वीरगञ्ज । नेपाल संघीय समाजवादी पार्टीको पर्सा जिल्ला कमिटी वीरगञ्जमा सम्पन्न भएको छ । पार्टीका पर्सा जिल्ला इन्चार्ज सोहेब अन्सारीको उपस्थितिमा तथा राकिब हुसेनको अध्यक्षतामा सम्पन्न भेलाले जिल्ला कार्य समिति चयन गरेको हो।
भेलाले रियाज अहमदलाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा विनोद पासवान र इमरान अली चयन भएका छन् । त्यसैगरी सचिवमा सबनम खातुन, सह–सचिवमा मोहम्मद हारुन र नोर्से आलम चयन भएका छन् । सल्लाहकार समितिमा राकिब हुसेन, डाक्टर रकिफ र अब्दुल रौफलगायत रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी उपस्थित रहनु भएको थियो ।
कार्यक्रममा मधेस प्रदेश संसदीय दलकी नेतृ तथा पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री बिमला अन्सारी, पार्टीका केन्द्रीय सदस्य सुरेश हजरा लगायत नेताहरूको पनि सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष मोहम्मद रिजवान अन्सारीले संघीयता, समावेशिता र सामाजिक न्यायको वास्तविक कार्यान्वयन बिना देशले सही दिशा लिन नसक्ने बताउनुभयो ।
उहाँले मधेस, मुस्लिम, दलित, पिछडावर्ग र सीमान्तकृत समुदायको हकअधिकार सुनिश्चित गर्न नेपाल संघीय समाजवादी पार्टी दृढताका साथ संघर्षरत रहेको उल्लेख गर्नुभयो।
“देशमा संघीयता आए पनि अझै पनि राज्य संरचनामा विभेद कायमै छ,” अध्यक्ष अन्सारीले भन्नुभयो, “अब संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै जनताको आवाजलाई सशक्त रूपमा उठाउनुपर्ने बेला आएको छ।” उहाँले पर्सा जिल्ला कमिटीले संगठन सुदृढीकरणमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि बिमला अन्सारीले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दलहरू जनतासँग प्रत्यक्ष जोडिनुपर्ने बताउँदै महिलाको नेतृत्व र सहभागितालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा वक्ताहरूले पार्टीको नीति, सिद्धान्त र आगामी रणनीतिबारे धारणा राख्दै संगठन विस्तार र जनमुखी राजनीतिमा जोड दिनुपर्ने बताएका थिए।
