वीरगञ्ज —नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएका हुन्।
पार्टी स्रोतका अनुसार साहलाई राजीनामा दिन अध्यक्ष प्रचण्डले नै निर्देशन दिएका थिए। मधेश प्रदेशमा माओवादी केन्द्रका ९ जना सांसद छन्। तीमध्ये बहुमत सांसदले साहलाई दलको नेताबाट हटाउन दबाब दिँदै आएका थिए।
हालसम्म अध्यक्ष प्रचण्ड र पार्टीका उपमहासचिव तथा मधेश प्रदेश इञ्चार्ज मातृकाप्रसाद यादवको समर्थन रहेको भन्दै साह राजीनामा नदिने अडानमा थिए। तर, केही समयअघि पार्टी अनुशासन विपरीत गतिविधि गरेको उजुरी अध्यक्षसमक्ष पुगेपछि परिस्थितिमा परिवर्तन आएको जनाइएको छ।
पार्टीप्रति आघात पुग्ने खालको गतिविधिका कारण अध्यक्ष प्रचण्ड स्वयंले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए। सो निर्देशनपछि साहले अन्ततः आफ्नो अडान परिवर्तन गर्दै पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ।
