आज:  | Tue, 05, May, 2026

प्रधानाध्यापकमाथि दुर्व्यवहार गरेपछि सांसद विश्वराज पोखरेलद्वारा क्षमायाचना

Avatar photo दिशा निर्देश १२ बैशाख २०८३, शनिबार १७:१२ मा प्रकाशित (१ हफ्ता अघि)

ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले खिजिदेम्बास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरमाथि गरेको दुर्व्यवहारको विषयमा चौतर्फी आलोचना भएपछि सार्वजनिक रूपमा माफी मागेका छन्।

वैशाख ९ गते आफ्नो निर्वाचन क्षेत्र भ्रमणका क्रममा विद्यालय पुगेका पोखरेलले आफूलाई तत्काल स्वागत नगरेको भन्दै प्रधानाध्यापकलाई अपमानजनक शब्द प्रयोग गरी हप्काएका थिए। पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) समेत रहेका पोखरेलले आफ्नो ओहोदाको धाक लगाउँदै शिक्षकहरूलाई प्रधानाध्यापक विरुद्ध ‘खेद प्रस्ताव’ पारित गर्न दबाब दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि उनको तीव्र विरोध भएको थियो।

घटनाको झण्डै एक सातापछि शनिबार विज्ञप्ति जारी गर्दै सांसद पोखरेलले सार्वजनिक जीवनमा रहँदा आफ्नो बोली र व्यवहारमा थप संयम हुनुपर्ने स्वीकार गर्दै विनम्रतापूर्वक क्षमायाचना गरेका छन्। उनले सार्वजनिक भएको भिडिओले घटनाको पूर्ण सन्दर्भ नबुझाएको दाबी गरे पनि परिस्थितिजन्य दबाबका बीच आफूले थप धैर्य राख्नुपर्ने कुरा उल्लेख गरेका छन्।

विद्यालयका समस्या लिखित रूपमा बुझाउने तयारीमा रहेका प्रधानाध्यापक र कर्मचारीहरू कार्यकक्षबाट निस्कन केही मिनेट ढिला हुँदा सांसद पोखरेल आक्रोशित भई फर्किएका थिए।


सम्बन्धित खबरहरु