वीरगञ्ज, जेठ २२ – प्रतिनिधिसभाको बिहीबारकाे बैठक विपक्षी दलहरूको लगातारको विरोध र नाराबाजीका कारण अगाडि बढ्न सकेन।
दिउँसो १ बजेका लागि तय गरिएको बैठक ढिलो गरी अपराह्न साढे ५ बजे सुरू भए पनि बैठक सञ्चालन हुन सकेन। बैठक सुरू हुनासाथ सभामुख देवराज घिमिरेले कार्यसूची पढ्न लाग्दा विपक्षी सांसदहरू उठेर विरोध जनाए। विपक्षी दलहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध पारेपछि सभामुखले सम्पूर्ण कार्यसूची हटाएर बैठक स्थगित गरेका हुन्। अब प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ।
सभामुख घिमिरेले सांसदहरूलाई दलीय आधारमा बोल्न समय दिने प्रयास गरे पनि विपक्षीको अवरोध कायमै रह्यो। विपक्षी दलहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएका छन्।
यसबीच सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्री लेखकले संसदमा आफ्नो पक्ष राख्न पाउनुपर्ने अडान लिएका छन्।
