आज:  | Tue, 05, May, 2026

पार्टी फुटाउने बाबुरामको सपना चकनाचुर भयो : अध्यक्ष यादव

Avatar photo दिशा निर्देश ३१ असार २०७९, शुक्रबार १०:५५ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको हित विपरित काम गर्ने तत्कालिन संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित ९ जनालाई पार्टीबाट पदमुक्त गरेको बताएका छन् ।

वीरगञ्जमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी २ दिनसम्म चलेको केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।

पार्टी हित विपरित गुटगत भेला गर्ने, पार्टी फुटाउने षड्यन्त्र गर्ने काम गरेकाले भट्टराई सहित ९ जनालाई बैठकले सर्वसम्मत कारबाही गर्ने निर्णय गरेको जानकारी गराए ।

उनलेले डाक्टर बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चकनाचूर भएको बताए । पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चकनाचूर भएको उनको दावी थियो ।

‘पार्टी फुटाउने षडयन्त्र थियो, संख्या नपुगेर आफैं परास्त हुनुभयो । आफ्नो गुटको बैठक बोलाउनुभयो, यो गलत थियो ‘ उनले भने, ‘पार्टी विधानविपरीत कार्य गरेर अर्काे जसपा दर्ता गराउने सपना चकनाचूर भएको छ । प्रयास असफल भएको छ ।’

काठमाडौंमा भएको भट्टराई निकटका नेताको बैठकले जसपाबाट छुट्टिएर अर्को पार्टी बनाउने निर्णय गरिसकेकोले उनीहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरिएको समेत अध्यक्ष यादवले बताए ।

यस्तै अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी सदस्य रेणु यादवले पार्टी नछाडेको बताएका छन् । बिहीबार सञ्चारमाध्यममा रेणु यादवले पार्टी छाडेको खबर बाहिरिएको भए पनि अध्यक्ष यादवले भने रेणुले पार्टी नछाडेको दावी गरेका हुन् । उनले भने, ‘रेणु जीले एकछिनको आक्रोस र भडास निकाल्नु भएको हो, पार्टी नै छाड्नु भएको छैन ।’

यस्तै अध्यक्ष यादवले आउदो निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने बताए । स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट तीतो अनुभव बटुलेको भए पनि अहिलेको आवश्यकता बमोजिम संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिन आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ थियो ।


सम्बन्धित खबरहरु