आज:  | Tue, 05, May, 2026

पलेशा गोवर्धनलाई एनएसजेएफ ट्रेलब्लेजर अफ दी इयर अवार्ड

Avatar photo दिशा निर्देश २४ पुष २०८२, बिहीबार १४:१५ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज। नेपाली खेलकुदमा एउटा गहिरो कथा बोकेको नाम हो, पलेशा गोवर्धन ।

एनएसजेएफ पल्स स्पोट्र्स अवार्ड २०८१ अन्तर्गत ‘ट्रेलब्लेजर अफ दी इयर’ घोषित हुनु पलेशाका लागि केवल अर्को सम्मान मात्र होइन। यो नेपाली खेलकुदले एउटा नयाँ यात्रालाई औपचारिक रूपमा स्वीकार गरेको क्षण पनि हो । बुधबार पोखरामा आयोजित समारोहमा पलेशालाई प्रदान गरिएको यो सम्मानले पारा खेलाडीहरूलाई हेर्ने दृष्टिकोण नै बदल्ने संकेत दिएको छ ।

नेपालको ओलम्पिक इतिहास लामो छ, तर उपलब्धि छोटो । दशकौँसम्म नेपाली खेलाडीहरूले सहभागिताको सीमा तोडे, तर पदक सधैं सपना नै रह्यो । यही सन्दर्भमा पलेशाको उदय केवल व्यक्तिगत सफलता होइन, सम्पूर्ण नेपाली खेलकुदको मनोविज्ञान परिवर्तन गर्ने क्षण बन्यो ।

पारा तेक्वान्दोमा पलेशाले रोजेको बाटो सजिलो थिएन । अवसर, पूर्वाधार र निरन्तर समर्थनको अभावका बीच उनले आफूलाई तयार पारिन् । खेलमा मात्र होइन, समाजले लगाइदिएको ‘सीमा’ सँग पनि उनले निरन्तर प्रतिस्पर्धा गरिरहिन् । तर पलेशाका लागि सीमाहरू रोकावट होइन, चुनौती बने ।

पेरिस पारा ओलम्पिकमा के–४४ क्याटेगोरी अन्तर्गत ५७ केजीमुनि कांस्य पदक जित्दै पलेशाले नेपालका लागि नयाँ इतिहास लेखिन् । त्यो पदक केवल तेक्वान्दोको सफलता थिएन, त्यो विश्वासको जित थियो, नेपाल पनि ओलम्पिक पदक जित्न सक्छ भन्ने प्रमाण ।

यसअघि पारा एसियन गेम्समा देखाएको क्षमता र त्यसपछि ओलम्पिक पदकसम्मको यात्रा पलेशालाई ‘पहिलो’ को सूचीमा राख्छ । गृष्म, शीत वा पारा ओलम्पिक— नेपालका लागि पहिलो पदकधारी खेलाडीको रूपमा उनको नाम स्थायी रूपमा अंकित भइसकेको छ ।

एनएसजेएफले पलेशालाई ट्रेलब्लेजर एथलेटको रूपमा सम्मान गर्नुको अर्थ स्पष्ट छ— उनले केवल पदक जितेकी छैनन्, बाटो देखाएकी छन्। पारा खेलाडीहरूका लागि सम्भावनाको ढोका खोलेकी छन् । नेपाली खेलकुदका लागि नयाँ सोचको सुरुवात गराएकी छन् ।

पलेशाको लक्ष्य अझै रोकिएको छैन । पलेशा गोवर्धन अब केवल पारा तेक्वान्दो खेलाडी होइनन् । उनी परिवर्तनको प्रतीक हुन् । अनि अहिले पनि पितृसत्ताले पिल्सीएकाहरुको लागि प्रेरणाकी पात्र हुन् ।


सम्बन्धित खबरहरु