वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुले नारायणी अस्पतालमा देखिएको बेथिती नियन्त्रणका लागि कडा कदम चाल्न आग्रह गरेका छन्। यस विषयमा उनले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग मंगलबार छलफल गरेका हुन्।
प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको भेटवार्तामा सांसद कानुले अस्पतालमा बिचौलिया र दलालको सक्रियता अत्यधिक बढेको र त्यसको प्रत्यक्ष असर बिरामीमाथि परिरहेको उल्लेख गरे। उनले विभिन्न उपचार तथा शल्यक्रियाको नाममा कमिसनको लोभमा बिरामीलाई निजी अस्पतालमा रेफर गर्ने प्रवृत्ति मौलाउँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे।
उनका अनुसार केही निजी अस्पतालले एम्बुलेन्स चालकमार्फत बिरामीलाई प्रभावित पार्ने तथा दलालीमार्फत रेफर गराउने गैरकानुनी गतिविधि समेत बढिरहेको छ। “सरकारी अस्पतालमा चिकित्सक समयमै नआउने र पूरा ड्युटी अवधिभर नबस्ने जस्ता कारणले सेवाग्राही प्रत्यक्ष मारमा परेका छन्,” उनले भने, “यसको नियन्त्रणका लागि नियमित अनुगमन र कडाइ अपरिहार्य छ।”
सांसद कानुले धार्मिक तथा सामाजिक पक्षतर्फ पनि ध्यानाकर्षण गराउँदै छठ पर्वका बेला घाट वरपर माछा–मासु बिक्री भइरहेकोप्रति आपत्ति जनाए। उनले धार्मिक आस्था र सामाजिक सद्भावलाई सम्मान गर्दै यस्ता गतिविधि तत्काल रोक्न माग गरे।
यसैगरी, गर्मीयामसँगै बढ्न सक्ने आगलागी लगायत विपद् व्यवस्थापनको तयारीबारे पनि उनले चासो व्यक्त गर्दै दमकल, पानीको स्रोत, उद्धार टोली तथा आवश्यक उपकरणको पर्याप्त व्यवस्था मिलाउन जोड दिए।
जवाफमा प्रजिअ दाहालले उठाइएका विषयप्रति आफू सकारात्मक रहेको उल्लेख गर्दै आवश्यक अनुगमन, समन्वय र कारबाही अगाडि बढाइने प्रतिबद्धता जनाए।
उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधिर पटेल, मुर्ली जलान, क्षेत्रीय सभापति फैयाज मिया, प्रकाश साहलगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष – नवराज फुयाँल
सम्पादक – हेमन्त तामाङ
सञ्चालक एवं व्यवस्थापक – आबिद हुसेन
समाचार सम्पादक – सत्यराज घिमिरे-
संवाददाता – जोतीलाल पंडित
विज्ञापनका लागि सम्पर्क :- +९७७ ९८५१२०८९९३
वीरगञ्ज महानगरपालिका ९, पर्सा, प्रदेश नं. २
फोन नं.: +९७७ ९८५१२०८९९३, ९८४५२२८६३८
ईमेल:- news@disanirdesh.com