वासिङ्टन डीसी, असार २५ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्ला तथा एक्स (पूर्व ट्विटर) का मालिक एलन मस्कबीचको सम्बन्ध चिसिँदै गएको छ। ट्रम्पले आफूले ल्याएको विधेयक असफल बनाउन डेमोक्र्याट सांसदहरूमाथि मस्कले लगानी गरेको आरोप लगाउँदै मस्कलाई ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्।
सीबीसी न्यूजसँग फोन कुराकानीमा ट्रम्पले एलन मस्कसँगको सम्बन्ध पूर्ण रूपमा समाप्त भएको बताएका छन्। ट्रम्पले पछिल्ला ४८ घण्टामा मस्कका गतिविधि हेरेपछि उनले लागूऔषध सेवन गरिरहेका हुनसक्ने आशंका आफ्ना सल्लाहकारहरूसँग व्यक्त गरेको समेत जानकारी दिएका छन्।
ट्रम्पको आलोचकका रूपमा चिनिएका मस्कले पछिल्लो समय सामाजिक सञ्जालमा ट्रम्पविरुद्ध गरेका धेरै पोस्टहरू हटाएका छन्। यद्यपि, उनले ट्रम्पको नेतृत्व अमेरिकाको लागि खतरनाक हुनसक्ने र आफूले सहयोग नगरेको भए ट्रम्प पराजित हुने सम्भावना रहेकोजस्ता भनाइ भने अझै हटाएका छैनन्।
मस्कले ट्रम्प प्रशासनद्वारा लागू गरिएको आयात कर नीतिका कारण अमेरिका आर्थिक मन्दीतर्फ उन्मुख हुनसक्ने चेतावनी दिएका छन्। उनका अनुसार वर्षको उत्तरार्द्धमा अमेरिकी अर्थतन्त्रले ठूलो दबाब खेप्नुपर्ने देखिएको छ।
मस्कविरुद्ध प्रदर्शन, सरकारी सहयोग रोकियो
ट्रम्पसँगको द्वन्द्वले मस्कलाई थप अप्ठ्यारोमा पारेको छ। मस्क नेतृत्वमा रहेको “डोग” नामक प्रविधि समूहमाथि भइरहेको आलोचना र प्रदर्शन अझै जारी छ। यसका साथै, अमेरिकी प्रशासनले यस समूहलाई दिँदै आएको सरकारी सहयोग तथा अनुदानसमेत रोकिएको बताइएको छ।
ट्रम्प–मस्कबीचको यो तिक्त सम्बन्ध अमेरिकी राजनीतिमा प्रभाव पार्न सक्ने आँकलन गरिँदैछ। आगामी राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा प्रविधि व्यवसायी र राजनीतिक नेताबीचको सम्बन्धमा चिसोपनले थप हलचल ल्याएको विश्लेषण भइरहेको छ।
