वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा बल प्रयोग गराएको आरोपमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाल पक्राउ परेका छन्।
मंगलबार बिहान कोटेश्वरस्थित सुविधानगरबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
बालेन्द्र शाह नेतृत्वको सरकारले जेनजी आन्दोलनमा बल प्रयोग गर्ने अधिकारीहरूमाथि कारबाही अघि बढाउने क्रममा रिजाललाई पक्राउ गरिएको जनाइएको छ।
यसअघि सोही प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरिसकिएको छ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले आन्दोलनका क्रममा बल प्रयोग गर्न निर्देशन दिएको ठहर गर्दै तत्कालीन सिडिओ रिजालमाथि कारबाही सिफारिस गरेको थियो।
पक्राउ परेका रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।
अब उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।
