वीरगञ्ज – जिल्ला समन्वय समिति पर्साको नयाँ नेतृत्व चयनका लागि शुक्रबार विहानबाट मतदान भइरहेको छ ।
जिल्ला समन्वय समितिको प्राङणमा बिहान १० बजेदेखि जारी मतदान दिउँसो २ बजेसम्म चल्ने छ ।
मतदान लगत्तै गणना कार्य हुने र केही समयमा नै नतिजा सार्वजनिक हुने पनि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
समितिको सभापतिमा २ जनाको उम्मेद्वारी परेको छ । एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेद्वार निरन्जन साह सोनार (अजय सर्राफ) र कांग्रेसको तर्फबाट सरोज चौरसिया अध्यक्षको प्रतिष्पर्धामा छन् ।
सोनार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बाट जसपाको तर्फबाट वडासदस्यमा निर्वाचित प्रतिनिधि हुन् भने चौरसिया कांग्रेसबाट जिराभवानी गाउँ कार्यपालिकाका सदस्य हुन् ।
यस्तै उपसभापतिमा एमाले जसपा गठबन्धनको तर्फबाट एमालेका बहुदरमाई नगरापालिकाका पुरन कुर्मीलाई अघि सारेको छ भने कांग्रेसले वीरगञ्ज वडा नम्बर ९ की सदस्य कुमारी सोनीलाई उम्मेद्वार बनाएको छ ।
समन्वय समितिको प्रमुख र ३ सदस्य लिँदै जसपा एमालेसँग गठबन्धन गर्न पुगेको हो । महानगरमा नराम्रोसँग पराजित भएको एमाले समन्वय समितिमा भने उपप्रमुखमै भए पनि चित्त बुझाउने गरी नेतृत्व जसपालाई सुम्पन तयार हुदै निर्वाचनमा होमिएको हो ।
महानगरमा कांग्रेस र जसपा मिलेर मेयर उपमेयर तथा बोर्ड सदस्य भागवण्डा लगाएका थिए । तर समन्वय समितिमा भने कांग्रेसले नेतृत्वको दावी गरेपछि जसपा एमालेसँग मिल्दै नेतृत्व हत्याउन पुगेको हो ।
१४ स्थानीय तहमध्ये १२ प्रमुख उपप्रमुख कांग्रेसको हुँदा एमालेको १०, जसपाको ५ र लोसपाको १ रहेको छ ।
बढी मत आफुसँग रहेकाले नेतृत्व आफूले पाउनु पर्ने सत्तागठबन्धनमा कांग्रेसले दावी गरेपछि नेतृत्व जसले दिन्छ उसैसँग जिससको निर्वाचनमा तालमेल गर्ने रणनीति अपनाएर जसपाले छलफल अघि बढाएको थियो ।
एमाले जसपालाई नेतृत्व सुम्पदै उपप्रमुखमा चित्त बुझाउन राजी भए पछि एमाले र जसपाबीच तालमेल हुन पुगेको हो ।
यो निर्वाचनमा जसपा नै निर्णायक रहेकाले एमाले र कांग्रेस जसपालाई हातमा लिन लागि परेका थिए । महानगको मेयर छाडेको र बोर्डमा पनि समान हिस्सा दिएको कांग्रेसले जिससमा भने आफ्नो नेतृत्व ल्याउन चाहेको थियो ।
तर जसपाले नेतृत्व नछाड्ने अडान लिँदै एमालेसँग तालमेल गर्न पुगेपछि कांग्रेस अल्पमतमा परेको छ । एमाले र जसपाको मतसंख्या १५ छ । कांग्रेस एक्लैसँग १२ छ । त्यसैले निर्वाचनमा प्रतिनिधिले मत क्रस नगरे जित एमाले जसपा गठबन्धनको हुने देखिन्छ । तर मत क्रस हुन सक्ने आशमा कांग्रेस देखिएको हुदा एमाले जसपा गठबन्धन पनि मत गणना सार्वजनिक नहुँदासम्म ढुक्क हुने अवस्था देखिदैन ।
