आज:  | Tue, 05, May, 2026

चूरे दोहनको अन्त्य गर्छु : मन्त्री यादव

Avatar photo दिशा निर्देश ३० असार २०७९, बिहीबार १७:४० मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – वन तथा वातावरण मन्त्री प्रदीप यादवले वन जंगलको संरक्षण र वातावरणको रक्षका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले मन्त्री यादवको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वातावरणलाई प्रदुषण हुनबाट जोगाउनुका साथै जंगल बिनाशलाई रोक्ने बताएका हुन् ।

वन तथा वातावरण मन्त्रालय चुनौतीपुर्ण मन्त्रालय भएपनि चुनौतीको सामना गर्न तयार रहेको मन्त्री यादवको भनाई छ । बिकासको नाममा बिनाश हुने गरेकोमा आपत्ति जनाउँदै उनले अध्ययन एवम् अनुसन्धानसहित दीगो बिकासका काम गर्न पछि नहट्ने प्रतिबद्धता जनाए । उनले भने, “वन मन्त्रालय अरु मन्त्रालयजस्तो सजिलो छैन, तथापी ति सबै चुनौतीहरुलाई सामना गर्न म आँट गर्छु, तपाईहरुले पनि हातेमालो गरेर मेरो कार्यकाललाई सबैले सम्झन योग्य बनाउन अनुरोध गर्दछु ।”

राजनीतिक संरक्षणको आडमा सञ्चालित अवैध क्रसर उद्योगलाई बन्द गर्ने बताउँदै जसपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री यादवले उनीहरुलाई कानुनी दायराभित्र ल्याउने चेतावनी पनि दिएका छन् । अवैध रुपमा नदिको उत्खनन् गरेर मधेशलाई मरुभुमीकरण गर्नेहरुलाई तह लगाउने मन्त्री यादवको दावी छ ।

चुरे क्षेत्रको संरक्षण भएपछि मधेशको संरक्षण हुने र मधेश बचे देश बच्ने मन्त्री यादवको बुझाई छ । उद्योगी, व्यवसायीसँग वन तथा वातावरण मन्त्रालयले गर्न सक्ने सहकार्यका लागि तयार रहेको बताउँदै उनले वातावरणमैत्री उद्योग निर्माणका लागि उद्योगीहरु प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले वन तथा वातावरण मन्त्रालय अत्यन्तै संवेदनशिल मन्त्रालय भएको बताए । भौतिक पूर्वाधार निर्माण, सञ्चार, विद्युत लगायतको विस्तारका लागि बनको अनुमति लिनुपर्ने हुँदा अत्यन्तै संवेदनशिल मन्त्रालय भएको बताए । भौतिक पूर्वाधार निर्माण गर्नुपरेमा, विद्युत, सञ्चार खानेपानी लगायतका योजना बिस्तारका लागि पनि बनसँग अनुमति लिनुपर्ने भन्दै बन मन्त्रालय जस्तो संवेदनशिल मन्त्रालयको मन्त्रीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने मन्त्री शर्माको बिश्वास छ ।

वीरगञ्जलाई हराभरा, स्वच्छ बनाउनुपर्ने भन्दै वृक्षरोपणको नाममा बिगार्ने नभएर सौन्दर्य पनि हुनुपर्नेमा उनको जोड छ । हेटौडाको सिस्नेरी सडकलाई निर्माण गर्नका लागि प्रदेशको मन्त्री भएर पटकपटक आवाज उठाएपनि नसुनेको बताउँदै उनले संघिय मन्त्रीको आवाज सुन्ने बिश्वासका साथ पहल गरिदिन आग्रह गरेका छन् । साथै उनले रक्सौलमा बिमानस्थलसँगै सिमरा बिमानस्थलको बिस्तारका लागि पनि पहल गरिदिन सुझाव दिएका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वन तथा वातावरण मन्त्री प्रदीप यादवको कार्यकालमा सफल हुने बिश्वास व्यक्त गरेका छन् । मेयर सिंहले मन्त्री यादवकै पालामा वीरगञ्जसँगै समग्र पर्सा जिल्लाले महत्वपूर्ण उपलब्धी पाउने अपेक्षा पनि गरे ।

वीरगञ्ज महानगरपालिकाको नगरपरिषद्बाट नयाँ घर बनाउनेले २ वटा विरुवा रोप्ने निर्णय पास भइसकेको बताउँदै मेयर सिंहले महानगरलाई हराभरा बनाउने अभियानमा हातेमालो गर्न पनि आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, पूर्व अध्यक्ष अशोक टेमानी, अशोक वैद्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

स्वागत मन्तव्य राख्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले निजगढ अन्तर्राष्ट्रिय बिमान स्थलको काम अघि बढाउन अनुरोध गरेका छन् । उक्त बिमानस्थल निर्माण भएमा उद्योगी व्यवसायीलाई धेरै राहत हुनुका साथै बारा एवम् पर्सा जिल्लाका बासिन्दालाई पनि अवसरको बृद्धि हुने अध्यक्ष डा. गुप्ताको बिश्वास छ । साथै उनले ३० वाटको लाइन पिलवाबाट वीरगञ्ज लयाउनुपर्ने बाटोमा २ किलोमीटर बाटो व्यस्थापनमा बनले अफ्ठयारो बनाएको हुँदा सहज बनाइदिन पनि आग्रह गरेका छन् ।


सम्बन्धित खबरहरु