काठमाडौं, जेठ ३0 — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू लोकतन्त्र र सुशासनका लागि दशकौंदेखि लडिरहेको भन्दै भिजिट भिसा प्रकरणमा आएको आरोपलाई “नियोजित र षड्यन्त्रपूर्ण” भनेका छन्।
“उक्त कार्यमा मेरो कुनै संलग्नता छैन, हुनै सक्दैन,” उनले भनें, “मेराविरुद्ध नियोजित ढंगले आक्रमण भएको छ, यसको म खेद प्रकट गर्छु।”
गृहमन्त्री लेखक बोलिरहेका बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले नाराबाजी गर्दै विरोध जनाइरहेका थिए। उनीहरूको विरोधकैबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका थिए।
सभामुख घिमिरेले पहिलो वक्ताका रूपमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। पाण्डेले सम्बोधन गरिरहँदा रास्वपा–राप्रपाका सांसदहरूले टेबुल ठोक्दै आपत्ति जनाए पनि उनले आफ्नो धारणा राखे।
पछिल्लो वक्ताका रूपमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोलेका थिए। उनको सम्बोधनका क्रममा रास्वपाले भने अवरोध गरेन।
