आज:  | Tue, 05, May, 2026

आफैँ माला लगाएर विव्यस अध्यक्ष भएको घोषणा गरेपछि…

Avatar photo दिशा निर्देश २९ जेष्ठ २०७९, आईतवार १४:५९ मा प्रकाशित (३ साल अघि)

रौतहट – रौतहटको एक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनलाई लिएर विवाद उत्पन्न भएको छ।

गढिमाइ नगरपालिका वडा नम्बर ९ ननर्वास्थित श्री प्राथमिक विद्यालयमा गत बुधबार भएको विव्यस गठनलाई लिएर विवाद भएको हो।

विव्यस अध्यक्षका लागि यहाँ शिवशंकर पासवान, मुङ्ग्लाल साह, चौठी यादव र नरेश यादव उम्मेदवार थिए।

चार जना उम्मेदवार भए पनि मतपत्र बनाएर निर्वाचन गर्ने गरी प्रक्रिया गरिएन। हात उठाएर कसका पक्षमा कति मानिस (अभिभावक) छन् भन्ने हेरिएको थियो।

नरेश यादवका पक्षमा धेरै हात उठेको भन्दै उनलाई अध्यक्ष बनाउने भनेपछि विवाद भएको हो। पहिले पनि विव्यस अध्यक्ष भएका यादव नेकपा एकीकृत समाजवादी निकट हुन्।

विव्यसको गठनका लागि अभिभावकहरू, वडा अध्यक्ष, नगरपालिकाका प्रतिनिधि, प्रहरीलगायत पनि पुगेका थिए।

यादवका पक्षमा धेरै हात उठेपछि उनलाई अध्यक्ष निर्वाचित भएको लेखेर नगरपालिकामा पठाएको विद्यालयका प्रधानाध्यापक श्रीराम यादवले दाबी गरे।

तर यादव पक्षले अरू उम्मेदवारलाई लखटेर आफैँ माला लगाएर अध्यक्ष जितेको घोषणा गरेको एक स्थानीय बासिन्दाले बताए।

‘नरेश यादवले दादागिरी गर्दै प्रक्रियागत रूपमा विव्यस गठन गर्न दिएनन्। आफ्ना विपक्षीलाई विद्यालय बाहिर पठाएर विद्यालयको कोठामा उनले आफैँ माला लगाए र अध्यक्ष भएको घोषणा गरेपछि विवाद उत्पन्न भयो,’ ती स्थानीयले भने।

विव्यस गठन प्रक्रियालाई लिएर वडा अध्यक्ष र सदस्यहरूले पनि असहमति जनाएका छन्। विव्यस गठनका लागि अभिभावकहरूको हस्ताक्षर गरिए पनि नरेश अध्यक्षमा चुनिएको भन्ने माइन्युटमा प्रअबाहेक अरूले हस्ताक्षर गरेका छैनन्।

वडाध्यक्ष हरिचन्द्र सहनीले विव्यस गठनको प्रक्रिया नमिलेको बताए। ‘विव्यस गठन गर्नुछ भनेर मलाई पनि खबर आयो। म गएँ,’ उनले भने, ‘चार जना अध्यक्ष उठ्ने भनेका थिए तर नरेश यादव एक्लैले म अध्यक्ष भएँ भनेपछि हाम्रो सहमति भएन।’

विव्यस गठन प्रक्रिया नमिलेको र एकलौटी भएकोबारे नगरपालिकालाई लेखेर पठाइदिएको उनले बताए।

‘विव्यस अध्यक्षमा नरेश चुनिएको भन्दै मलाई हस्ताक्षर गर्न भनिएको थियो तर मैले हस्ताक्षर गरिनँ,’ उनले भने, ‘सबै पक्षको सहमति नभई र निर्वाचन प्रक्रिया नमिलेको अवस्थामा मैले कसरी हस्ताक्षर गरूँ?’

नरेश यादव पक्षले हातपातसमेत गरेको उनले बताए।

‘हेडसरले पनि जवरजस्ती गर्नुभयो, मैले त प्रहरी नै बोलाएको थिएँ,’ उनले भने, ‘यो विवादित छ भनेर नगरपालिका र शिक्षामा लेखेर पठाएको छु।’

यादव पक्षले विद्यालयको कोठाभित्र कार्यक्रम गरेर आफ्ना विरोधी अभिभावकलाई भित्र छिर्न नदिएको आरोप छ।

यो विद्यालयमा नियमित रूपमा दिवाखाजा समेत नपाइएको गुनासो विद्यार्थीहरूको छ। कक्षा ५ सम्म पढाइ हुने यो विद्यालयमा ३५० विद्यार्थी छन्। पढाइ पनि नियमित हुन नसकेको अभिभावक गुनासो गर्छन्।

के भन्छन् प्रधानाध्यापक?

विद्यालयका प्रधानाध्यापक श्रीराम यादवले लामो समयदेखि विव्यस गठन नहुँदा भवन निर्माणलगायत काम गर्न नसकिएको बताए।

‘पटकपटक अभिभावक भेला गर्दा विव्यस गठन हुन सकेको थिएन। छैठौं पटक बुधबार भेला गर्दा अभिभावक धेरै उपस्थित हुनुभयो र विव्यस गठन गरियो,’ उनले भने, ‘विव्यस नहुँदा भवन निर्माण सम्झौता हुन सकिरहेको छैन।’

वडाध्यक्ष सहनीले पार्टीगत उम्मेदवार खोज्दा विवाद उत्पन्न भएको उनले आरोप लगाए। ‘स्कुल चलाउने व्यक्तिलाई अध्यक्ष दिनुपर्छ भन्ने कुरा थियो। तर वडाध्यक्षले हाम्रो पार्टीको को छ भनेर खोज्न थाल्नुभयो,’ उनले भने।

वडाध्यक्ष सहनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका थिए।

विव्यस अध्यक्षका लागि इच्छुकहरूलाई भेलामा सोध्दा चार जनाले नाम दिएको प्रअ यादव बताउँछन्।

‘सकेसम्म चुनाव प्रक्रियामा नजाने भन्ने कुरा थियो। पक्ष र विपक्ष गर्दा भन्डाफोरतिर लाग्छन् भन्ने भयो। चुनावमा सकभर नजाने भनेर हात उठाएर चुन्ने भन्ने भयो,’ उनले भने, ‘हात उठाउँदा नरेश यादवका पक्षमा ७५ प्रतिशत अभिभावकको हात उठ्यो।’

यसलगत्तै एक व्यक्तिले कोठाभित्र सबैको हात नदेखिएको भन्दै चौरमा जानुपर्ने माग राखेका थिए।

‘सबैले राम्रोसँग देखेन भनेर बाहिर जाने कुरा भयो। यत्तिकैमा नरेश यादव पक्ष कलधारातिर जम्मा हुनुभयो। वडा अध्यक्षले भने जवरजस्ती भयो भन्दै जानुभयो,’ उनले भने, ‘पछि अध्यक्षले मलाई फोन गरेर नरेश अध्यक्ष भएको निर्णयमा हस्ताक्षर नगर्न भन्नुभयो तर मैले लेखेर पठाइदिएँ।’

नगरपालिकाले यस विषयमा आफूसँग स्पष्टीकरण नै सोधिसकेको प्रअ यादव बताउँछन्। ‘मैले जे-जे भएको हो साँचो कुरा नगरपालिकालाई स्पष्टीकरण पनि दिएको छु,’ उनले भने।


सम्बन्धित खबरहरु