वीरगञ्ज । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेले पदभार सम्हाल्नेबित्तिकै विभिन्न कार्यदल गठन गर्ने निर्णय गर्दै आर्थिक सुधारको सुरुआत गरेका छन्।
सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर उनले पहिलो निर्णयस्वरूप देशको समग्र आर्थिक अवस्था अध्ययन तथा विश्लेषण गर्न कार्यदल गठन गरेका हुन्। उक्त कार्यदललाई यही चैत १३ गतेसम्मको आर्थिक अवस्थाको विस्तृत चित्र प्रस्तुत गर्ने जिम्मेवारी दिइएको छ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी बाचापत्रमा उल्लेखित प्रतिबद्धताहरू कार्यान्वयन गर्न तथा फागुन २१ मा प्राप्त नयाँ जनादेशअनुसार स्पष्ट कार्ययोजना तयार पार्न अर्को कार्यदल गठन गरिएको छ।
अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिस कार्यान्वयनतर्फ पनि कदम चालेका छन्। सोहीअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा विभिन्न कानुन संशोधन वा खारेज गर्ने विषयमा अध्ययन गर्न छुट्टै कार्यदल बनाइएको छ। यसअन्तर्गत करिब १५ वटा पुराना ऐन खारेज गर्ने तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ।
निजी क्षेत्रको विश्वास अभिवृद्धि र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रको सुरक्षा र लगानी प्रोत्साहनसम्बन्धी उपायहरूको अध्ययन गर्न अर्को कार्यदल गठन गरिएको छ।
यसबाहेक, ठूला विकास आयोजनाहरूलाई तीव्रता दिन सहजीकरण गर्ने निर्णयसमेत गरिएको छ। अर्थमन्त्री वाग्लेले अबको आफ्नो मुख्य ध्यान आगामी बजेट निर्माणमा केन्द्रित हुने स्पष्ट पारेका छन्।