आज:  | Tue, 05, May, 2026

मुल भन्सारबाटै भोला, फैयाज र सुरेन्द्रको निर्वाध तस्करी

Avatar photo दिशा निर्देश २ भाद्र २०७९, बिहीबार १७:१९ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – वीरगञ्जको मुख्य नाकाबाटै तस्करसमूहले निर्वाध रुपमा करोडौँ मूल्यका सामान भित्र्याइरहेका छन् ।

प्रहरीसँगको मिलेमतोमा तस्करसमूहले तस्करीका सामान भित्र्याउन मुख्य नाकालाई नै प्रयोग गरिरहेको भेटिएको हो ।

अहिले दैनिक रुपमा रिक्सा, अटो, टेम्पु, मोटरसाइकल तथा साइकलबाट मुख्य नाका हुँदै तस्करीका सामान निर्वाध वीरगञ्ज भित्रिरहेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा यसरी तस्करी गर्नेहरुमा भोला, फैयाज र सुरेन्द्रको समूह रहेको स्रोतको दावी छ ।

उनीहरुले त्यहाँ खटिने नेपाल प्रहरीको युनिटदेखि अपराध अनुसन्धानको टोली, क्विक रेस्पोन्स टिम, इनरुवा प्रहरी चौकी, ससस्त्र प्रहरी पोष्टदेखि जिल्लाका सुरक्षा प्रमुखसम्मलाई नजराना बुझाएर निर्वाध तस्करी धन्दा चलाइरहेको स्रोत बताउँछ ।

यसरी भित्र्याइएको सर्टिङसुटिङ, लत्ताकपडा, मेसिनरी पार्टपुर्जा, दैनिक उपभोग्य वस्तु ट्रान्सपोर्ट तथा अन्य विभिन्न माध्यमबाट देशका विभिन्न स्थानमा पुर्याउने गरिएको छ ।

सानासाना झोला जाँच गर्ने सुरक्षाकर्मीले तस्करीका सामान आउँदा भने देखे पनि नदेखेझै गरेर आँखा चिम्लिदिँदा तस्करीका सामान निर्वाध भित्रिने गरेको हो ।

मुख्य नाका हुँदै वीरगञ्ज बजारसम्म आइपुग्न सुरक्षाकर्मीको ४ ओटा घेरा पार गर्नु पर्छ । तर यो घेरामा खटिने सुरक्षाकर्मीले तस्करहरुको सामान समात्नुको सट्टा उल्टै स्कटिङ गरेर सम्बन्धित स्थानसम्म पुर्याउने गरेको भेटिएको छ ।

यस बारेमा सुरक्षाकर्मीको जिल्ला नेतृत्वलाई जानकारी नभएको होइन । जानकारी भएर पनि तस्करहरुबाटै नजराना लिएकाले नियन्त्रणमा लिनुको सट्टा सम्बन्धित ठाउँसम्म पुर्‍याउन सुरक्षा दिन उल्टै निर्देशन दिने गरिएको छ ।

प्रहरीले कहिलेकहीँ ट्रकसहित सामान नियन्त्रणमा लिएको भनेर प्रचार गर्ने गरेको छ । तर त्यसमा पनि प्रहरीसँगको वार्गेनिङ नमिल्दा सामान नियन्त्रणमा लिने गरेको स्वंय व्यापारीहरु नै बताउँछन् ।


सम्बन्धित खबरहरु