काठमाडौं — संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे संसद भवन, नयाँबानेश्वरमा बस्ने कार्यक्रम रहेको छ।
संसद सचिवालयका अनुसार, आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव वक्तव्यसहित पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। सो प्रस्तावमाथि छलफल हुने पनि कार्यसूचीमा उल्लेख छ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक, २०८२’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्ने तयारी गरिएको छ।
आजको बैठकको सम्भावित कार्यसूचीमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको विवरण पढेर सुनाउने कार्यक्रम पनि समावेश गरिएको छ।
तर, भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधका कारण जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। प्रतिपक्षी दलहरूले गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने र छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएका छन्।
सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुटाउन सभामुख घिमिरेले पटक–पटक छलफलको प्रयास गरे पनि सहमति हुन नसकेकाले आजको बैठक पनि नियमित ढंगमा सञ्चालन हुने नहुने अन्योल यथावत् रहेको छ।
