आज:  | Tue, 05, May, 2026

प्यालेस्टाइनमाथिको आक्रमण र अमेरिकी हस्तक्षेपविरुद्ध संयुक्त वाम अभियान पर्साको विरोध प्रदर्शन

Avatar photo दिशा निर्देश १३ श्रावण २०८२, सोमबार ११:२४ मा प्रकाशित (९ महिना अघि)

वीरगञ्ज, साउन १२ : संयुक्त वाम अभियान पर्साको आयोजनामा आइतबार वीरगञ्जको घण्टाघरमा अमेरिकाको साम्राज्यवादी हस्तक्षेप र इजरायलद्वारा प्यालेस्टाइनमाथि भइरहेको एकतर्फी आक्रमण तथा नरसंहारविरुद्ध विरोध प्रदर्शन गरिएको छ।

कार्यक्रमको अध्यक्षता एकीकृत समाजवादीका पर्सा जिल्ला अध्यक्ष बाल गोपाल थापाले गर्नुभएको थियो भने संचालन नेकपा माओवादी केन्द्रका निवर्तमान जिल्ला अध्यक्ष कमरेड रामदास कुशवाहाले गर्नुभयो।

कार्यक्रमका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम कौशिकले भन्नुभयो आजको विश्वमा देखिएको युद्ध, नरसंहार र दमनको मूल जरो साम्राज्यवाद हो। प्यालेस्टाइनमाथि इजरायली राज्यले गरिरहेको आक्रमण कुनै युद्ध होइन, यो एकपक्षीय राज्यीय आतंक हो। त्यो आतंकको संरक्षण र समर्थन अमेरिकी साम्राज्यवादले गर्दै आएको छ।”

उनले थपे प्यालेस्टाइनी जनताको स्वतन्त्रता, स्वाभिमान र मानवअधिकारलाई पैतालामुनि राखेर इजरायली सैनिक शक्ति चलेको छ। सयौं बालबालिका, महिला र निर्दोष नागरिकको हत्या गरिएको छ। यो मानवता विरुद्धको अपराध हो। यसविरुद्ध आवाज उठाउनु विश्वका न्यायप्रेमी जनताको कर्तव्य हो।

कौशिकले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय शक्तिहरूको मौनता र दोहोरो चरित्रप्रति पनि गम्भीर प्रश्न उठाउँदै भने गाजाका हस्पिटलमा बम वर्षा हुँदा, राहत लाइनमा उभिएकाहरू मारिँदा र पत्रकारहरूको हत्या हुँदा पनि न त संयुक्त राष्ट्रसंघले न त अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले गम्भीरता देखाएका छन्। यस्तो मौनता पनि साम्राज्यवादकै भाग हो।

अन्य वक्ताहरूमा वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष धनबहादुर श्रेष्ठले साम्राज्यवाद विरुद्धको संघर्षलाई दक्षिण एसियाली सन्दर्भमा जोड्नुपर्ने बताउँदै उनले भने नेपालजस्ता साना मुलुकहरूमा विदेशी हस्तक्षेपको खतरा सदैव रहन्छ। त्यसकारण हामीले प्यालेस्टाइनप्रति ऐक्यवद्धता मात्र होइन, नेपालमा पनि स्वाधीनता, सार्वभौमिकता र जनहितको पक्षमा संघर्ष तेज गर्नुपर्नेछ।

विरोध प्रदर्शनमा विभिन्न वाम घटकका नेताहरूको उपस्थिति उल्लेखनीय थियो।
कार्यक्रममा जनमोर्चाका जिल्ला अध्यक्ष अक्षेलाल शाह, किशोरी कुशवाहा, सुरेन्द्र गुप्ता, सलाम अन्सारी, दिपेन्द्र सिंह पटेल, तोला मियाँ, हीरा भट्टराई, शुशिल हजरा, वृजलाल पासवान, रमेश चौधरी, साथै वाईसिएल महानगर अध्यक्ष विकास पटेल लगायतको उपस्थिति थियो।

संयुक्त बाम अभियानका नेताहरूले यस्तो आक्रोशपूर्ण समयलाई अन्तर्राष्ट्रिय ऐक्यवद्धताको रूप दिनुपर्ने, आवाज उठाउने ठाउँमा नेपालका नागरिक पनि चुप लाग्न नहुने धारणा राखेका थिए।


सम्बन्धित खबरहरु