वीरगन्ज। नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा आज समूहगत छलफलका सुझाव पेस भइरहेका छन्।
प्रचार विभाग प्रमुख रामशरण गौतमका अनुसार महाधिवेशनमा प्रस्तुत सातवटा प्रतिवेदनमाथि शनिबार भएको समूहगत छलफलपछि आइतबार प्रदेश, जनसङ्गठन, सम्पर्क समिति, प्रवास तथा केन्द्रीय निकायका समूह नेताहरूले आफ्नो सुझाव प्रस्तुत गर्दैछन्।
सुझाव पेस भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ। सहमति नजुटेमा मतदानमार्फत टुंगो लगाई एकीकृत रूपमा विधान पारित गरेर बैठक समापन गर्ने तयारी गरिएको छ।
यससँगै आजै समसामयिक प्रस्ताव पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूची पनि छ।
ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रतिवेदनसहित सात प्रस्तावमाथि १० समूहमा छलफल भएको थियो।
महाधिवेशनमा देशभरबाट २,०२६ प्रतिनिधि र आयोजकका ३१५ जना गरी कुल २,३४१ जनाको सहभागिता छ।
