आज:  | Fri, 13, Feb, 2026

जल तथा मौसम विज्ञान विभागद्वारा १६ जिल्लामा रेड अलर्ट, नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

Avatar photo दिशा निर्देश १८ आश्विन २०८२, शनिबार १५:१४ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लालाई अति जोखिम र जोखिमयुक्त क्षेत्रमा वर्गीकरण गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका महानिर्देशक कमलराम जोशीले रेड अलर्ट जारी गरिएका जिल्लाहरूमा तत्काल सावधानी अपनाउन र सरकारी निकायहरूलाई सक्रिय रहन निर्देशन दिएका छन्।

रेड अलर्ट जारी भएका जिल्लाहरूमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा, धनुषा, सुनसरी, उदयपुर, सिन्धुली, काभ्रे, दोलखा, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक र चितवन रहेका छन्। ती जिल्लाहरूमा बाढी र डुबानको जोखिम उच्च रहेको भन्दै जोशीले विशेषगरी नदी किनारमा बसोबास गर्नेहरूलाई सजग रहन अनुरोध गरेका छन्।

भौतिक पूर्वाधार तथा ऊर्जा मन्त्री कुलमान घिसिङद्वारा आयोजित आकस्मिक बैठकमा महानिर्देशक जोशीले मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिए। उनका अनुसार नेपालको मध्य भागमा सक्रिय मनसुनका कारण आज साँझ ७–८ बजेदेखि भोलि बिहान ८ बजेसम्म अति भारी वर्षा हुने चेतावनी छ।

यस्तै, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, गोरखा, नवलपरासी (पूर्व), रुपन्देही र कपिलवस्तुमा सामान्य अलर्ट जारी गरिएको छ। यी जिल्लामा पनि भोलि बिहानसम्म सावधानी अपनाउनुपर्ने विभागले जनाएको छ।

मौसम विभागले स्थानीय प्रशासन, सुरक्षाकर्मी र नागरिकलाई सम्भावित विपद्‌को तयारीमा जुट्न र सुरक्षित स्थानमा बस्न अपिल गरेको छ।


सम्बन्धित खबरहरु