काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन्। अधिकारीले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा हिजो, भाद्र २३ गतेको ‘अलोकतान्त्रिक कदम’ र दमनको विरोधमा राजीनामा दिएको जानकारी गराएका छन्।
उनले भनेका छन्, “सरकारको कदमले मलाई अपराधबोध महसुस भएको र नैतिकताको खिलाफ भएकाले पदमा बसिरहन सक्दिन। हाम्रो छोराछोरी पुस्ताले भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध चेतावनी दिएका छन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको प्राकृतिक अधिकार हो। यसको सट्टा भएको दमन, हत्या र बल प्रयोगले देश तानाशाहीतर्फ उन्मुख भइरहेको छ।
अधिकारीले थपे, “देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्धजस्तो व्यवहार हुन पुग्यो? यसको जवाफ नखोजी सत्तामा बस्न म असमर्थ छु। कलिला छोराछोरीहरूको हत्या र दमनपछि देशलाई शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र दलको शिक्षाको खिलाफ हुनेछ।
धादिङ–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित अधिकारी गत असार ३१ गते मन्त्री बनेका थिए। उनले आफ्नो दलको लोकतान्त्रिक इतिहासप्रति गर्व रहेको र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने सिद्धान्तमा प्रतिबद्ध रहेको बताएका छन्।
अन्तमा उनले भनेका छन्, “जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही छैन। हामीभन्दा माननीय र सम्माननीय हाम्रा सार्वभौम जनता हुन् भन्ने चेतना हामी ‘नेता हौं’ भन्नेहरूमा विकसित होस्।
यस्तो छ मन्त्रीको भनाई :
आदरणीय नेपाली जनसमुदायहरू,
नमस्कार, जय नेपाल !
म रामनाथ अधिकारी धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मिति २०८१ असार ३१ गतेबाट नेपाल सरकारको मन्त्रिपरिषदमा कृषि तथा पशुपन्छी विकास मन्त्रीको रूपमा ईमानदारीपूर्वक पूर्ण क्षमताका साथ आमजनता र किसान दाजुभाइ तथा दिदीबहिनीहरुको हितमा समर्पित हुन पाएकोमा सन्तोषका साथ यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
मैले प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको लोकतान्त्रिक ईतिहासप्रति मलाई सदैव गर्व छ र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलको सिद्धान्तमा एक सच्चा सिपाहीको नाताले कुनै सम्झौता हुनुहुन्न भन्नेमा म सदैव प्रतिबद्ध छु।
हिजो २०८२ भाद्र २३ गते हाम्रो छोराछोरी पुस्ताले काठमाडौं र देशका विभिन्न स्थानमा मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु। देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन। स-साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।
पटक-पटक युवापुस्ता र जनताले आन्दोलन गरिरहनुपर्ने र सत्तासीनहरूले सदैव असहिष्णुता देखाइ हिंसा गरिरहने बिडम्बनाबाट मुलुकले चाँडै निकास पाउनु पर्छ, लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुँदैन। हामी भन्दा माननीय र सम्माननीय हाम्रा सार्वभौम जनता हुन् भन्ने सामान्य चेतना हामी ‘नेता हौं’ भन्नेहरुमा विकास होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।
जय नेपाल !
२४ भाद्र २०८२
रामनाथ अधिकारी
मन्त्री
कृषि तथा पशुपन्छी विकास मन्त्रालय,
सिंहदरबार, काठमाडौं
