खानेपानीमन्त्री प्रदीप यादव र एसियाली विकास बैंक (एडीबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा इन्टी ग्रेटर खानेपानी आयोजना कार्यान्वयन मोड़ालिटी तैयारीसम्बन्धी नेपालमा लागू हुने खानेपानीका एकीकृत खानेपानी तथा सरसफाई परियोजनासम्बन्धी विविध विषयमा गहन छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।
बैठकमा एकीकृत खानेपानी तथा सरसफाइ आयोजनाको कार्यान्वयन मोडालिटी, सुधारिएको शहरी खानेपानी मोडल, र सुधारिएको क्षेत्रीय सहरी विकास परियोजना (आरयूडीपी) मोडललाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल भएको सचिवालयको भनाइ छ ।
खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार, यी परियोजनाका विषयमा विगत दुई वर्षदेखि विषय उठान गरिए पनि मन्त्री यादवको सक्रियतामा मन्त्रालयका अधिकारीहरू र एडिबी प्रतिनिधिहरूबीच विस्तृत छलफल सुरु भएको हो । उनले दुई मोडेलका माध्यमबाट आयोजना कार्यान्वयनको सम्भावना छानबिन गरिने जानकारी दिए ।
छलफलका क्रममा मन्त्री यादवले एडिबीको ऋण सहयोगमा नेपालमा सञ्चालित सडक, शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता परियोजनाहरूले नागरिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताए । उनले भने, ‘एडिबीको परियोजनाप्रति नेपाली नागरिक सन्तुष्ट छन् । एडिबीको लगानी सफल होस् र खानेपानीका आयोजना समयमा सम्पन्न होस् भन्ने सरकारको मुख्य प्राथमिकता हो ।’
एडिबीका निर्देशक आर्नो कोस्वाले नेपालमा खानेपानी लगायतका क्षेत्रमा एडिबीको दीर्घकालीन लगानी र सफलताका उदाहरणहरू प्रस्तुत गर्दै नयाँ परियोजनाहरू शीघ्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘नयाँ खानेपानी परियोजना लागू गर्न एडिबी पूर्ण रूपमा प्रतिबद्ध छ, र यसले नागरिकलाई शुद्ध पानी उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’