आज:  | Sat, 08, Feb, 2025

पत्रकार महासंघ पर्साद्वारा पत्रकार जियलाल साहलाई धम्की दिनेहरूमाथि कारबाहीको माग

Avatar photo दिशा निर्देश १९ पुष २०८१, शुक्रबार १९:०२ मा प्रकाशित (१ महिना अघि)
Share

वीरगन्ज, पुस १९ : नेपाल पत्रकार महासंघ पर्साले महासंघका सदस्य तथा सिधा कुरा डटकमका संवाददाता जियलाल साहलाई धम्की दिनेहरूविरुद्ध कानूनी कारबाहीको माग गरेको छ।

पत्रकार साहले आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोपमा एमाले कार्यकर्ताहरूले आफूलाई अभद्र व्यवहार गर्नुका साथै धम्की दिएको जानकारी गराएपछि महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको हो।

महासंघका सचिव विजय कुमार महतोद्वारा जारी विज्ञप्तिमा समाचार लेखेकै कारण पत्रकार साहलाई सामाजिक सञ्जालमार्फत मानसिक तनाव र दबाब दिने कार्यप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १४ गते पर्साको सखुवा प्रसौनीस्थित औराहा पचगावामा आयोजना गरेको कार्यक्रममा ‘विवादित पृष्ठभूमि’का व्यक्तिलाई पार्टीमा प्रवेश गराएको समाचार लेखेको बहानामा पत्रकार साहमाथि सामाजिक सञ्जालमा आपत्तिजनक तस्बिरसहित धम्कीपूर्ण पोस्ट गर्ने र गराउने कार्य आपत्तिजनक रहेको महासंघले जनाएको छ।

महासंघले समाचार सामग्रीप्रति असन्तुष्टि भए कानूनी उपचारको विकल्प हुँदाहुँदै सामाजिक सञ्जालमार्फत धम्की दिने प्रवृत्ति सञ्चारकर्मीप्रति बक्रदृष्टि भएको ठहर गरेको छ। यस्तो कार्यले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामा खलल पुगेको भन्दै महासंघले दोषीमाथि तत्काल कानूनी कारबाहीको माग गरेको छ।

पत्रकार साहले आफूलाई फोनमार्फत समेत धम्की आएको जनाएका छन्। “मेरो फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै जहाँ भेट्यो त्यही कालोमोसो दल्ने धम्की दिएका छन्। फोन गरेर किन यस्तो समाचार लेखेको भन्दै थर्काएका छन्,” साहले बताए।

स्थानीय एमाले कार्यकर्ता विरेन्द्र पटेल र निखिलराज गिरीले धम्की दिएको आरोप पत्रकार साहले लगाएका छन्। महासंघले यस्ता क्रियाकलापले पत्रकार र सञ्चारमाध्यमप्रति अविश्वासको वातावरण सिर्जना गरेको भन्दै सम्बद्ध पक्षलाई शीघ्र कदम चाल्न आग्रह गरेको छ।

 


सम्बन्धित खबरहरु