आज:  | Mon, 13, Jan, 2025

रवि लामिछानेसँग १७ प्रश्नमा ४ घण्टा बयान, प्रहरी र रास्वपाका कार्यकर्ताबीच झडप

Avatar photo दिशा निर्देश २५ मंसिर २०८१, मंगलवार १७:१८ मा प्रकाशित (१ महिना अघि)
Share

मंसिर २५, वीरगन्ज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा भइरहेको अनुसन्धान अन्तर्गत मंगलबार पर्सा जिल्ला अदालतअन्तर्गत सरकारी वकिलको कार्यालयमा ४ घण्टा लामो बयान लिइएको छ। बिहान ९:१५ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट ल्याइएका लामिछानेसँग मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले १७ प्रश्न सोधपुछ गरेका थिए। बयानपछि उनलाई पुनः जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ।
मुख्य न्यायाधिवक्ता निरौलाका अनुसार मंगलबारको बयानपछि अब लामिछानेसँग लिखित बयान गरिनेछ। यस विषयमा रास्वपाका जिल्ला संयोजक हरि पन्तले लामिछानेलाई बुधबार मात्रै पोखरा फिर्ता पठाइने जानकारी दिएका छन्।

रवि लामिछानेमाथि वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट करिब ८ करोड ५० लाख रुपैयाँ अपचलन गरेको गम्भीर आरोप छ। अनुसन्धानको सिलसिलामा उनलाई यसअघि रुपन्देही, काठमाडौं र चितवनका प्रहरी कार्यालयमा समेत लगिएको थियो।

सहकारीको रकम ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडिया नेटवर्कको खातामा सातपटक स्थानान्तरण गरिएको खुलेको छ। २०७८ साउन १९ मा मात्रै चार करोड ९१ लाख रुपैयाँ सारिएको थियो। लामिछाने २०७७ माघ १ देखि २०७९ असार १ सम्म गोर्खा मिडियामा प्रबन्ध निर्देशकको रूपमा कार्यरत थिए।

सहकारी ठगी प्रकरणमा पूर्वडीआइजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि पक्राउ गरिएको थियो। उनीहरुको बयान सोमबार नै सकिएपछि बिहान स्थलमार्ग हुँदै पोखरा फिर्ता पठाइएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए। यस प्रकरणमा सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई र संरक्षक गीतेन्द्रबाबु राईसहित ११ जना फरार रहेका छन्। सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल र कर्मचारी राधेचन्द्र यादव भने धरौटीमा रिहा भइसकेका छन्।

प्रदर्शनकारी र प्रहरी बीच झडप 
रवि लामिछानेको समर्थनमा मंगलबार दिउँसो रास्वपाका कार्यकर्ताहरूले वीरगन्जको घण्टाघर चोकमा प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरू जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि पुगेपछि उनीहरू र प्रहरीबीच झडप भएको थियो। कार्यकर्ताहरूले प्रहरीको बेरियर तोड्ने प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रहरी र प्रदर्शनकारीबीच केही समय घम्साघम्सी चलेको थियो।


सम्बन्धित खबरहरु