आज:  | Mon, 13, Jan, 2025

ठाकुरराम बहुमुखी क्याम्पसको तालाबन्दी : नेविसङ्घ पर्साले सहमतिको लागि २ दिने अल्टिमेटम

Avatar photo दिशा निर्देश २५ मंसिर २०८१, मंगलवार १७:०७ मा प्रकाशित (१ महिना अघि)
Share

महम्मद अब्दुल कलाम हुसेन

वीरगञ्ज, पर्सा – मंसिर १४ गतेदेखि ठाकुरराम बहुमुखी क्याम्पसमा कर्मचारी सरुवासम्बन्धी विवादले सुरु गरेको तालाबन्दी १२ दिनसम्म जारी छ। त्रिभुवन विश्वविद्यालय कर्मचारी इकाई संघद्वारा गरिएको तालाबन्दीका कारण क्याम्पसका शैक्षिक र प्रशासनिक गतिविधि पूर्णरूपमा ठप्प भएका छन्।

विद्यार्थीहरू पठनपाठन, प्रमाणपत्र वितरण, र परीक्षा सञ्चालनजस्ता सेवाबाट वञ्चित भएका छन्। यो अवस्थाले उनीहरूमा मानसिक तनाव र भविष्यप्रति अन्योल बढाएको छ।

यस परिस्थितिमा नेपाल विद्यार्थी संघ (नेविसङ्घ), पर्सा जिल्ला कार्यसमितिले समस्याको समाधानका लागि सम्बन्धित निकायलाई तत्काल पहल गर्न आग्रह गरेको छ। नेविसङ्घले क्याम्पस प्रशासनलाई दुई दिनभित्र सहमतिको वातावरण बनाउन अल्टिमेटम दिएको छ।

नेविसङ्घ पर्साका सभापति इञ्जिनियर रमेश कुमार यादवले भने, “विद्यार्थीहरूको शैक्षिक अधिकारलाई प्रभावित पार्ने कुनै पनि गतिविधि सह्य छैन। समस्या समाधान नभए कडा आन्दोलनको कार्यक्रम अघि बढाइनेछ, जसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्नेछ।”

शिक्षा अवरुद्ध हुँदा विद्यार्थीहरू प्रमाणपत्र र परीक्षा तालिका प्राप्त गर्नबाट वञ्चित भएका छन्। यो समस्याले उनीहरूको शैक्षिक करियरमा नकारात्मक प्रभाव पारेको छ।

क्याम्पस प्रशासन र सरोकारवाला निकायले समस्या समाधानको दिशा तत्परता देखाउने कि आन्दोलन थप चर्किने भन्ने प्रश्न अहिले चासोको विषय बनेको छ। नेविसङ्घले शिक्षाको गुणस्तर र निरन्तरताका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 


सम्बन्धित खबरहरु