डा. प्रतिमा सेन
दसैँ भन्नेबित्तिकै तपाईंको दिमागमा सबैभन्दा पहिला के आउँछ?
मासु?
मांसाहारी हो भने पक्कै पनि दसैँ भन्नेबित्तिकै तपाईं मासु सम्झनुहुन्छ। अरू बेलामा भन्दा दसैँमा माछामासु खाने चलन धेरै हुन्छ।
तपाईंलाई तारेको मासु मनपर्छ कि ग्रेभी? कि सेकुवा? पक्कु पनि मनपर्छ?
चाडपर्वमा आ–आफ्नो रोजाइ र स्वाद अनुसार मासु खाने गरिन्छ। कतिपयको घरमा त दसैँमा हरेक छाकजस्तै नै मासु खाने चलन हुन्छ।
भिडिओ
तारेर, झोल हालेर, पक्कु बनाएर, सेकुवा बनाएर अनि कतिजना त काँचै मासु पनि खाइराख्नु भएको हुन्छ।
दसैँमा शाकाहारी बाहेक अधिकांशको खाना मासुमै निर्भर हुन्छ। यदि कोही व्यक्ति मधुमेह, उच्च रक्तचाप या त मुटुसँग सम्बन्धित् स्वास्थ्य समस्यामा हुनुहुन्छ भने निरन्तर रूपमा मासु खानु त्यति स्वस्थकर मानिँदैन।
हामीले माछामासु दैनिक रूपमा खाने भनेको कोही व्यक्तिलाई कुनै पनि खालको स्वास्थ्य समस्या छैन भने त्यस्तो व्यक्तिले दिनमा एकसय ग्राम मासु खानु उपयुक्त मानिन्छ। त्यो भनेको ७ देखि ८ पिस हुन्छ।
मुटुरोग, मधुमेहजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूले चाहिँ हप्तामा तीनदेखि चार दिन मात्रै खानु भन्छौँ हामी। एकदिन बिराएर। त्यसरी खाँदा पनि खानामा मिसाएर, बिहान २÷३ पिस र बेलुका २÷३ पिस खानु भन्छौँ।
रातो मासुमा पनि छालारहित मासु खान सकियो भने त्यसलाई अस्वस्थकर मान्न मिल्दैन।
कुन मासु राम्रो?
माछामासुमा हामीले एउटा सेतो मासु र अर्को रातो मासु भनेर विभाजन गर्ने गर्छौं। रातो मासुमा चाहिँ मुख्य गरेर मायोग्लोबिन भन्ने प्रोटिन पाइन्छ।
सेतो मासुमा कुखुराको मासु, माछाहरू पर्छ भने रातो मासुमा खसीको मासु, बंगुरको मासु, राँगाको मासु पर्छ।
साधारणतया सामान्य मान्छेले खाने र बिरामी मान्छेले खाने, स्वस्थकर भनेको सेतो मासु नै हो। त्यसमा कुखुराको मासु र माछा अझ राम्रो मानिन्छ।
दसैँ भन्नेबित्तिकै प्रायजसो खसीको मासुको पक्कु भनेर हामीले धेरै रुचाउँछौँ। खसीको पक्कु खाँदाखेरी लामो समयसम्म पकाउने, धेरै मरमसला र तेल राखेर पकाउने, लामो समयसम्म त्यसलाई फ्रिजमा राखेर अलि पछिसम्म पनि खाने गरिन्छ।
यसरी पकाएको मासुलाई स्टोर गरेर राखिसकेपछि चिसो ठाउँमा (फ्रिज) राख्यौँ अनि फेरि तातो बनाउँदा किटाणुहरूको संक्रमण हुने जोखिम पनि हुन्छ।
यदि केही गरेर हामीले त्यो पक्कुलाई चाहिँ फ्रिज टेम्प्रेचरमै राखेका छौँ र खानुपर्ने मासुलाई मात्रै थोरै मात्रामा झिकेर पुनः तताउँछौँ भने चाहिँ खासै फरक पर्दैन। त्यो मासुलाई हामीले २ देखि ३ दिनसम्म प्रयोग गर्न सक्छौँ। तर, लामो समयसम्म राख्नको लागि चाहिँ हामीले तापक्रममा ध्यान दिनै पर्ने हुन्छ।
पहिलापहिला हामीसँग फ्रिज हुँदैन थियो। त्यो समयमा आगोमा, घाममा सुकाएर मासुलाई लामो समयसम्म राख्ने गरिन्थ्यो। तर अहिले टेक्नोलोजीले गर्दा फ्रिजहरू प्रयोग गर्न पाइरहेका छौँ। त्यसकारण मासुलाई स्टोर गर्दा हामी फ्रिजर टेम्प्रेचर मेन्टेन्ट गर्छौं, रेफ्रिजेरेटेर टेम्प्रेचर मेन्टेन गर्छौं।
हामीले किनेको मासु गुणस्तरीय छ भन्ने कुरामा हामी विश्वस्त हुनुपर्छ। मासुको बास्ना कस्तो छ, नराम्रो बास्ना आइरहेको छ कि छैन भनेर पनि हामीले ध्यान दिनुपर्छ। सुकुटी बनाएको मासु, घाममा सुकाएको मासु हामीले बढीमा १० देखि २० दिनसम्म मात्रै उपयोग गर्नु उचित हुन्छ।
हामीले किन छालारहित मासु खानुपर्छ भने छाला सबैभन्दा बाहिरको पत्र भयो। पखाल्दाखेरी पनि कस्तो पानीले पखालिएको हुन्छ, सफा पानीले पखालिएको हुन्छ कि हुँदैन, थाहा हुँदैन। वधशाला कस्तो हुन्छ थाहा हुँदैन। सूक्ष्म जीवाणु त सर्वव्यापी छ। छाला भनेको चाहिँ सबैभन्दा चाँडो संक्रमित हुने हिस्सा हो। त्यसकारण हामीले छालाहरू हटाएर मासु खान सकियो भने यो स्वस्थ हुन्छ।
हामीले मासु किन्दाखेरी पनि मायोग्लोबिन प्रोटिन अर्थात् अलि रातो खालको मासु, हेर्दैखेरी लोभलाग्दो। हेर्दैखेरी राम्रो कलर देख्यौँ भने त्यसलाई स्वस्थकर मासु भन्न सकिन्छ। अक्सिडाइज भएको मासु चाहिँ कलरै अलि फरक हुन्छ। ताजा देखिँदैन। अलि ध्यान दिने हो भने हामीले वधशालामै पनि छुट्याउन सक्छौँ, मासु ताजा र गुणस्तरीय छ कि छैन भनेर।नेपालखबर बाट साभार ।