वीरगञ्ज । नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम अन्तिम चरणमा पुगेको छ ।
नेपाल आयल निगमका अनुसार उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको छ । निगमको मधेश प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायका अनुसार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको मुख्य ट्यांकी चार हजार एक किलोलिटर क्षमताका दुईवटा ट्यांकी निर्माण पूरा भएको छ । अन्य प्राविधिक काम दुई महिनाभित्र सम्पन्न गर्नेगरी द्रुतगतिमा भइरहेको उपाध्यायले जानकारी दिए ।
पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइप लाइन जडानकार्य पनि अन्तिम चरणमा पुगेको छ । परियोजनामा सरकारको एक अर्ब ५४ करोड तथा भारत सरकारको ६० करोड लगानी छ ।