बैशाख ,२ बारा । नेपाली मुस्लिम समाज बाराले जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
सामाजिक सञ्जालमा मुस्लिम धर्मका प्रवर्तक (दुत) पैगम्बर मोहम्मदसंग जोडिएर अनर्गल प्रचार गरेको भन्दै मुस्लिम समाज बाराले प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।रोजाको अवसरमा सामाजिक सञ्जालमा आपत्तीजनक कुराहरु लेखेर मुस्लिम समुदायमाथि अघात पु¥याउने अनर्गल प्रचार गरेको भन्दै ज्ञापन पत्रमार्फत प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराइएको छ ।
२८ चैतमा सामाजिक सञ्जालमार्फत सर्वाेच्च अदालतका निवर्तमान न्यायाधीश कमलनारायण दासले लेखेको कुराले मुस्लिम समुदायमाथि ठेस पुगेको ज्ञापनपत्रमा उल्लेख छ ।
‘संविधानको भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको उल्लंघन भएको छ । प्रत्येक नेपालीले वर्तमान संविधानलाई हृदयले मानेको अवस्थामा कमलनारायण दास संविधानको खिलाफ जानुभएको छ, ज्ञापन पत्रमा लेखिएको छ, ‘निजको समाचारले नेपाली समाजमा कलह र अशान्तीको वातावरण सृजना गरेको छ । त्यसकारण ठोस कदम चालियोस ।’
सामाजिक सञ्जालमा मुस्लिम समुदायका धर्म प्रवर्तक पैगम्बर मोहम्मदको चरित्र हत्या गर्नेलाई आवश्यक कारवाही गर्न प्रभानमन्त्री र गृहमन्त्रीसँग ज्ञापनपत्रमार्फत माग भएको छ । साथै मुस्लिम समुदायको संवैधानिक जिउज्यानको सुरक्षा गर्न, तथा मस्जिद, मदर्सा लगायतका धार्मिक स्थलको सुरक्षा गर्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको हो ।
नेपाली मुस्लिम समाज बाराको तर्फबाट खुशमहम्मद , शेष सैनुल्लाह ,अनवर अंसारी , महम्मद नाैसाद ,अबदुर रहमान सहितकाले ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले मुस्लिम समुदायलाई बुझाएको ज्ञापनप्रति प्रशासन गम्भीर रहेको जनाए ।
थप कारबाहीको लागि ज्ञापनपत्र आजै गृह मन्त्रालयमा पठाइदिने प्रजिअ घिमिरेले प्रतिबद्धता गरे ।