आज:  | Sun, 26, Jun, 2022

पर्साका सिडि‍ओ रमिते बन्दा सेवाग्राही सास्ती खेप्दै

दिशा निर्देश ९ असार २०७९, बिहीबार १२:५४ मा प्रकाशित (३ दिन अघि)

वीरगञ्ज – पर्साको ठोरीका रविन तिमल्सिना जिल्ला प्रशासन कार्यालय धाउन लागेको दुई हप्ता भयो । छोरीको राहदानी (पासपोर्ट) बनाउन आएका तिमल्सिना दुई साता धाउँदा पनि राहदानी (पासपोर्ट)को फारम भर्न सकेका छैनन् ।

बल्ल तल्ल एक हप्ता लगाएर राष्ट्रिय परिचय पत्र बनाएका तिमल्सिनाले पासपोर्टको फारम अझै भर्न नसकेका हुन् ।

‘पासपोर्ट बनाउनु अघि अहिले राष्ट्रिय परिचय पत्र बनाउन अनिवार्य रहेछ,’ तिमल्सिनाले भने, भीड बढी हुँदा राष्ट्रिय परिचय पत्र बनाउनै एक हप्ता लाग्यो ।’
‘परिचय पत्र बनेपछि पासपोर्ट बनाउन खोज्दा अर्को एक साता गइसकेको छ । तर पनि फारम भर्न सकिएको छैन,’ उनले भने ‘यसले गर्दा सर्वसाधारणले सास्ती व्यहोरिरहेका छन् ।’

पासपोर्टको फारम भर्न राहदानी विभागले वेवसाईट नै बनाएको छ । https://emrtds.nepalpassport.gov.np यसमा गएर जो कोहीले पनि आफ्नो फारम आफै भर्न सक्ने भनिएको छ । पहिले जिल्ला प्रशासन कार्यालयकै राहदानी शाखाले फारम भरिदिने गरेको थियो । अहिले पनि चिनेजानेका व्यक्तिको फारम शाखाबाटै भर्ने गरेको भेटिन्छ । तर सबैको नभरिदिँदा समस्या आएको छ ।

सरकारले पासपोर्ट सुरक्षा मजबुद बनाउन भन्दै अहिले विद्युतीय राहदानी (इ–पासपोर्ट) बनाउन थालेको हो । तर संरचना पुरानै हुँदा अनलाइनमार्फत नै इ–पासपोर्टका लागि फारम भर्न कठिन भइरहेको छ ।

बेला बेला फारम स्वीकार हुने गरेको भए पनि अधिकांस समय भने कोटा सकिएको भन्दै वेबसाइट नै काम गर्दैन ।

पासपोर्ट मात्रै होइन, नागरिकता, प्रतिलिपि, राष्ट्रिय परिचय पत्र लिन हप्तौँसम्म जिल्ला प्रसासन कार्यालय धाउनु पर्ने बाध्यता छ ।

जिल्लाकै मुख्य प्रशासनिक केन्द्र जिल्ला प्रशासन कार्यालय पर्सा को सेवा प्रवाह अस्तव्यस्त हुँदा सेवाग्राहीले दुःख भोगिरहनु परेको छ ।

जिल्ला भरका कार्यालयलाई चुस्त सेवा दिन निर्देश गर्नु पर्ने कार्यालयको लथालिंग पाराले अहिले सबैलाई गिज्याएको छ ।

कार्यालयमा कहिले विजुली नहुने, भए पनि नेटवर्क नहुने जस्ता समस्या देखाएर सेवाप्रवाह गर्न कर्मचारिहरु पन्छिने गर्दा सेवाग्राहीले मर्का खेपिरहनु परेको हो ।

कार्यालयमा कार्यरत कर्मचारीहरुले आफू निकटका व्यक्तिको गुपचुपमै काम गरिदिने र अन्यलाई भने लाइनमा बस्न बाध्य पर्ने गरेको सेवाग्राहीको गुनासो छ ।

कार्यालयमा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, राहदानी तथा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड माछा बजारमा लाग्ने भीडभन्दा कम्ती छैन ।

तर यो भीड व्यवस्थापन गर्न र सहज रुपमा सेवा प्रवाह गर्न भने प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले कुनै प्रयास नै गरेका छैनन् ।

कार्यालयकै कर्मचारी पनि प्रमुख जिल्ला अधिकारीको कमजोरीका कारण कार्यालयले सेवा प्रवाह गर्न ढिलाई हुनुका साथै भीड अस्तव्यस्त हुन पुगेको बताउँछन् ।

प्रमुख जिल्ला अधिकारीले आफ्नो कार्यकक्ष सामुन्ने सेवाग्राहीले सास्ती खेपिरहेको दृश्य देखे नदेखे झै गरिदिँदा समस्या उत्पन्न भएको सेवाग्राहीको बुझाइ छ ।

कार्यालयमा रहेको भीड व्यवस्थापन गरेर चुस्त सेवा दिन आफूहरुले नसकेको स्वीकार्छन् सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्छ पौडेल ।

निर्वाचनपछि एकै पटक चाप हुँदा सेवाप्रवाहमा केही कठीनाई आएको भन्दै उनले पुरानो रहेको एउटै साँघुरो भवनबाट सबै सेवा दिन पर्दा भीड व्यवस्थापन गर्न नसकिएको उनी बताउँछन् । नयाँ भवन बनिरहेको र अझै केही समय लाग्ने भन्दै उनले भवन बनिसकेपछि सेवा प्रवाह सहज हुनुका साथै अहिले देखिए जस्तो भीड नहुने उनको दावी छ ।

जिल्लाकै मुख्य प्रशासनिक केन्द्र जिल्ला प्रशासनबाटै प्रदान गरिने सेवा लथालिंग हुँदा अन्य कार्यालयको हविगत के होला यसै अनुमान लगाउन सकिन्छ ।

आम नागरिकलाई सास्ती होइन सेवा चाहिएको छ ।


सम्बन्धित खबरहरु