आज:  | Sun, 26, Jun, 2022

नापी कार्यालय घुसकाे अखडा, रंगेहात एक जना दलाल पक्राउ

दिशा निर्देश ७ असार २०७९, मंगलवार १८:३५ मा प्रकाशित (५ दिन अघि)

वीरगञ्ज – सरकारी कर्मचारी भन्दै सेवाग्राहीसँग १ लाख २५ हजार लिँदै गर्दा पर्सा प्रहरीले वीरगञ्जबाट एक जना दलाललाई रंगेहात पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा वीरगंज १३ मुर्लीका ६० वर्षीय दिनेश पाण्डे भनिने उमा पाण्डे रहेकाे प्रहरीले जनाएकाे छ । उनले निजामति कर्मचारीको पोशाक लगाएर आफू नापी कार्यालय पर्सामा कार्यरत कर्मचारी रहेको बताउँदै सेवाग्राहीसँग जग्गाकाे लालपुर्जा उपलब्ध गराइदिने भन्दै रकम लिन लागेका थिए ।

वीरगंजको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्र सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैया लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल नेतृत्वकाे प्रहरी टोलीले पाण्डेलाई रंगेहात पक्राउ गरेको हाे ।

वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राजनारायण झालाई नयाँ नापीको लालपुर्जा उपलब्ध गराउने भन्दै ३ महिनादेखि अनावश्यक नापी कार्यालयमा दौडाउदै आई रहेका पाण्डेले लालपुर्जा लिन मंगलबार अपरान्ह ३ बजे बोलाएको र लालपूर्जाका लागि १ लाख २५ हजार रकम दिनु पर्ने माग गरे बमोजिम बैंकबाट रकम झिकी बुझाउने क्रममा निजलाई रंगेहात प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक मल्ले जानकारी दिए ।

नापी कार्यालयका कर्मचारीको मिलोमतोमा पाण्डेले बर्षौदेखि नापी कार्यालयको दोश्रो तल्लामा टेबल कुर्सी राखेर आफू सरकारी कर्मचारी भएको देखाउन कर्मचारीकै पोशाक समेत लगाएर बस्ने गरेका थिए । पाण्डेमार्फत नै नापी कार्यालय आउने सेवाग्राहीलाई काम गरे वापत घुस दिन बाध्य पारिने गरेको अनुसन्धानको क्रममा खुलेको पनि प्रहरीले जनाएकाे छ ।


सम्बन्धित खबरहरु