आज:  | Sun, 26, Jun, 2022

सरकारले चिनी कारखाना चलाउँदैन : कांग्रेस प्रवक्ता महत

दिशा निर्देश ५ असार २०७९, आईतवार ११:०७ मा प्रकाशित (१ हफ्ता अघि)

वीरगञ्ज – नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशसरण महतले सरकारले चिनी कारखाना चलाउन नसक्ने बताएका छन् ।

प्रेस युनियन पर्साले वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले चिनी कारखाना, जुत्ता कारखाना चलाएर सरकार नबस्ने बताएका हुन् ।

नागरिकका न्यूनतम आवश्यकता पूर्ती गर्ने सवालमा सरकारले काम गर्ने भन्दै बाटो बनाउने, नहर बनाउने जस्ता कार्यक्रम गरे पनि व्यवसायीक काम नगर्ने बताएका हुन् ।

‘होटल सरकारले चलाउने, जुत्ता, इटा कारखाना सरकारले चलाउने, चिनी कारखाना सरकारले चलाउने गर्दा देश अगाडी बढ्दैन, सरकार सहभागि हुने क्षेत्र छ,’ उनले भने, पूर्वाधार विकासको क्षेत्र सरकारले लिने हो । जहाँ निजी क्षेत्र आउँदैन ।

सरकारले सडक, सिंचाई, कुलो नहर तथा पूर्वाधारका काम गर्ने भन्दै नागरिकको न्यूनतम आवश्यकता पूर्ती गर्ने सवालमा भने सरकारको सहभागिता हुने बताए ।

‘अब अहिले जुम्ला जोड्ने सडक बना भन्यो भने निजी क्षेत्रले बनाउँदैन । प्रतिफल आउँदैन बनाउँदैन । सिंचाई, कुलो नहर बनाउन निजी क्षेत्र आउँदैन । खानेपानी घरघर पुर्याउने काममा पनि निजी क्षेत्रको लगानी अनुसार नागरिकले तिर्न सक्दैनन् ।’ उनले भने, ‘यो न्यूनतम आवश्यकता हो । त्यसैले यस्तोमा सरकारको सहभागिता अनिवार्य हुन्छ ।’

आफूले सैद्धान्तिक कुरा गरेको भन्दै उनले कोहीले भन्नकै लागि मात्रै भन्ने काम गर्नु ठिक नहुने बताए । ‘हामी जे गर्छौँ त्यो भन्छौँ । जे भन्छौँ त्यो गर्छौँ ।’ उनले भने, ‘अरुदलका नेताहरुले भन्नका लागि मात्रै भन्ने काम गरे । आफैँ हुँदा गरेर देखाएनन नी । गरेर परिणाम आउँदैन भन्ने थाहा छ उनीहरुलाई त्यहीभएर गरेनन् । मान्छेको चित्त बुझाइदिन मात्रै उनीहरुले भन्ने काम गरे ।’

यस्तै प्रवक्ता महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गढबन्धनको भूमिका सकारात्मक नै रहेकाले आउँदो संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिइने बताए ।

अहिले चर्चामा रहेको एसपीपी (स्टेट पार्टनरसीप प्रोग्राम) को सन्दर्भमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिइसकेको भन्दै त्यसमा नेपाल संलग्न नहुने कांग्रेसको नीति रहेको प्रष्ट पारे ।

सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता महतले अहिले बजेट अधिवेशन चलिरहेको र बजेट पास भएपछि मन्त्री परिवर्तन हुने पनि बताए । कतिपय मन्त्रीको अमर्यादित कामका बारेमा कुराहरु सार्वजनिक भइरहेको भन्दै उनले त्यसलाई प्रधानमन्त्रीले गठबन्धनका दलहरुसँग छलफल गरेर निर्णय लिने पनि जानकारी दिए ।


सम्बन्धित खबरहरु