आज:  | Mon, 27, Jun, 2022

युक्रेन : युद्धले ध्वस्त सहरमा अब हैजाको डर

दिशा निर्देश २९ जेष्ठ २०७९, आईतवार ०९:३० मा प्रकाशित (२ हफ्ता अघि)

हप्तौँको गोलाबारीपछि ध्वस्त भएको र अहिले रुसी नियन्त्रणमा पुगेको युक्रेनी बन्दरगाह सहर मारिऊपोलमा हैजा फैलिने जोखिम रहेको यूकेको रक्षा मन्त्रालयले जनाएको छ।

सहरको अधिकांश पूर्वाधार ध्वस्त भएको वा क्षतिग्रस्त भएको तथा पानीमा ढल मिसिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

हैजा साधरणतया दूषित पानी वा खानेकुरा सेवन गर्दा सर्छ। सरसफाइसँग यसको नजिकको सम्बन्ध छ।

मारिऊपोलमा छरिएका शव र फोहोरका कारण अस्वस्थ वातावरण छ।

यसअघि पनि मारिऊपोलमा सङ्क्रमण देखिएको थियो। विगतका महिनामा केही मानिसमा हैजा पुष्टि पनि भएको थियो।

यो सहरमा युक्रेनले नियुक्त गरेका नगरप्रमुख भोडिम बोएचेन्कोले बीबीसी युक्रेनीसँग कुरा गर्दै “हैजा, झाडापखाला र अरू सङ्क्रामक रोगहरू सहरमा देखा परिसकेको” बताए।
उनले ठूलो स्तरको महामारी नियन्त्रण गर्ने उद्देश्यले सहरलाई बन्द गरिएको बताए।

यो दाबीलाई बीबीसीले स्वतन्त्रतापूर्वक पुष्टि गर्न सकेको छैन। रुसले नियुक्त गरेका नगरप्रमुखले भने नियमित रूपमा परीक्षणहरू गर्ने गरिएको भन्दै हैजाका बिरामी फेला नपरेको जनाए।

युक्रेनको स्वास्थ्य मन्त्रालयले मारिऊपोलबाट आफूले सीमित सूचना प्राप्त गरिरहेको जनाउँदै युक्रेनको नियन्त्रणमा रहेका भूभागमा परीक्षण गरेको र कुनै पनि घटना फेला नपरेको जनाएको छ।
यसै हप्ताको सुरुमा संयुक्त राष्ट्रसङ्घले पानीसँग ढल मिसिएको भन्दै त्यसबाट हैजाको जोखिम रहेको बताएको थियो।

रेडक्रसले सरसफाइसँग सम्बन्धित पूर्वाधारमा क्षति पुग्दा त्यसले पानीबाट सर्ने रोगहरूको सङ्क्रमण फैलिने जोखिम देखिएको थियो।

केही घण्टामै हैजाले ज्यान लिन सक्छ

बीबीसीकी स्वास्थ्य संवाददाता स्मिता मुन्दासाद भन्छिन्,” हैजाले गम्भीर रुपमा बिरामी बनाउँछ र समयमै उपचार नपाए केही घण्टामै मानिसको ज्यान जान सक्छ।”

भिब्रिओ कोलेरी नामक ब्याक्टेरियाका कारण यो रोग लाग्छ।

उक्त ब्याक्टेरियाबाट दूषित भएको खानेकुरा खाँदा वा पानी पिउँदा हैजा सर्छ।

कम सरसफाइ भएका स्थान र असुरक्षित खानेपानीसँग हैजाको सङ्क्रमण सम्बन्धित छ।

हैजाको जीवाणुले आफ्ना लागि त्यस्ता क्षेत्रलाई उर्वर ठान्छ।


मानवीय सङ्कटका कारण पानीको आपूर्ति र सरसफाइसँग जोडिएका सामग्री अवरुद्ध भएको र मानिसहरू भिडभाड भएका क्षेत्रमा शरण लिइरहेको अवस्थामा यो रोगले अझ समस्या बढाउँछ।

हैजाको सङ्क्रमण भएपछि मानिसहरूलाई झाडापखाला हुन्छ र उनीहरूको शरिरमा पानीको चरम अभाव देखिन्छ।

त्यस्तो बेलामा द्रुत गतिमा तरल पदार्थसहित एन्टिबायोटिक दिएर उपचार गर्नुपर्छ।

हैजा हुँदा कैयौँलाई मध्यम खालका लक्षणहरू देखा पर्छन् र धेरै जनालाई कुनै पनि लक्षण देखिँदैन। तथापि तरपनि उनीहरूको दिसामा हैजाको जीवाणु देखिन्छ।

खोप र सरसफाइमा सुधार गर्नाले हैजाको महामारीलाई नियन्त्रणमा राख्न सकिन्छ।


सम्बन्धित खबरहरु