आज:  | Wed, 18, May, 2022

पाकिस्तानमा सरकारी कार्यालयको समय परिवर्तन

दिशा निर्देश २९ चैत्र २०७८, मंगलवार २३:३६ मा प्रकाशित (१ महिना अघि)

पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले नयाँ मन्त्रीहरू नियुक्त गरेका छन् । सोमबार संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका शरिफले मंगलबार सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन् ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार बिलावाल भुट्टो—जर्दारीलाई नयाँ विदेश मन्त्री बनाइएको छ । त्यसैगरी आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी राना सनाउल्लाहलाई र सञ्चार मन्त्रीको जिम्मेवारी मार्यम औराङजाबलाई दिइएको छ । मन्त्रिपरिषद्मा गठबन्धनमा सहभागी विभिन्न दलको तर्फबाट सिफारिस गरिएका नेताहरूलाई समेटिएको छ । उनको सरकारलाई आफ्नो पार्टीसँगै पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतका पार्टीको समर्थन रहेको छ ।

तत्कालीन प्रधानमन्त्री इमरान खानले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि बाहिरिएकाले शरिफको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । उनले सरकारको नेतृत्व गरेसँगै पहिलो निर्णयका रुपमा सरकारी कार्यालयको समय परिवर्तन गरेका छन् । बिहान १० बजेदेखि सुरु हुने सरकारी कार्यालयको सेवा अबदेखि ८ बजे नै सुरु हुने उनले निर्णय गरेका छन् ।

पाकिस्तान मुस्लीम लिग — नवाजका नेता शरिफ पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् । विपक्षी दलको नेतृत्व गर्दै आएका ७० वर्षिय शरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री भएका नवाज शरिफका भाइ हुन् । लाहोरमा जन्मेका शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री बनेका थिए ।


सम्बन्धित खबरहरु