काठमाडौँ — माधवकुमार नेपाल लगायतका नेताहरूले पार्टी विभाजन गरेपछि मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा मझधारमा रहेका नेताहरू पनि सहभागी भए । विगतमा माधव नेपालसँग नजिक रहेका उनीहरू अब अध्यक्ष केपी शर्मा ओलीलाई नै स्वीकारेर पार्टीभित्रै बस्ने भएका छन् । पार्टी एकताका लागि विगतमा गरेको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि जाने उनीहरूले उल्लेख गरेका छन् । के अब एमालेको विवाद मिलेको हो ? यसै सन्दर्भमा एमाले सचिव गोकर्ण विष्टसँग गरेको कुराकानी :
लामो समयको अन्तरविरोधपछि तपाईंहरू स्थायी कमिटी बैठकमा जानुभयो, के–के सहमति भयो ?
लामो समयदेखि एमालेभित्र असामान्य र असहज परिस्थिति देखा परेको थियो । त्यसैले समाधानका लागि कार्यदल गठन भएको थियो । त्यसले दुईटा नेतासँग लामो परामर्श गरेर समस्या समाधानका लागि हामीले १० बुँदे सहमति प्रस्ताव गरेका थियौं । त्यो सहमति एमालेभित्रको एउटा शक्तिसंघर्षको रुपमा नै थियो । त्यसलाई कार्यान्वयन गरेर एकताबद्ध हुन आवश्यक थियो । यद्यपि माधव नेपाल सहितका नेताहरू एकताबद्ध हुनसक्नु भएन । उहाँहरू नयाँ दल गठनको प्रक्रिया जानुभयो ।
यो अवस्थामा फेरि पनि पार्टीलाई एकताबद्ध बनाउन कार्यादलको सिफारिसमा टेकेर त्यसको कार्यान्वयनमार्फत पार्टीलाई एकताबद्ध गर्ने सन्दर्भमा हामीले पहिलेदेखि नै अडान राख्दै आएका थियौं । हामीले पार्टी अध्यक्ष र महासचिवसँंग लामो समयदेखि छलफल गरेका थियौं । छलफलबाट १० बुँदे सहमति कार्यान्वयन गर्ने र एकता अघि बढाउने भन्ने निष्कर्षका आधारमा स्थायी कमिटिको बैठकले निर्णय गरेको हो । अब पार्टी एकताबद्ध हुने प्रक्रिया अघि बढेको छ ।
बुँदागत रुपमा बैठकका मुख्य निर्णय के हुन् ?
एउटा महत्त्वपूर्ण निर्णय १० बुँदाको कार्यान्वयनका सन्दर्भमा गर्नुपर्ने कामहरू बारेमा नै छ । जेठ २ गतेको अवस्थामा पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई यथावत् रुपमा क्रियाशील गराउने, ती कमिटीका बैठकहरू राख्ने, असोज महिनाभित्र सदस्यता नवीकरणको समय तोकेर प्रक्रिया अघि बढाउने, जिल्ला भेलाहरूमार्फत कार्यकर्तालाई प्रशिक्षित गर्ने, विधान महाधिवेशन र पार्टीको राष्ट्रिय महाधिवेशनको पनि मिति तय गर्ने काम भएको छ । पार्टीको आन्तरिक जीवनलाई एकताबद्ध बनाएर आपसी कामहरूमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टीमा असहमत हुँदै नयाँ दल गठनको प्रक्रियामा जानु भएका माधवकुमार नेपाल, झलनाथ लगायतका नेताहरूलाई एकतामा फर्कन आह्वान गरिएको छ । पार्टी केन्द्रीय कमिटीको बैठक १० गते १२ बजे बस्ने तय भएको छ ।
अब पार्टीभित्रको अन्तरविरोध समाधान भएको हो ?
एउटा जीवन्त पार्टीभित्र नयाँ मुद्दाहरू जन्मन सक्छन् । नयाँ अन्तरविरोध पैदा हुनसक्छ । विगतका अन्तरविरोधहरूका अवशेषहरू बाँकी पनि रहन सक्छन् । तर फेरि पनि सबै कुराको समाधान पार्टीभित्र प्रणालीद्वारा नै हुनुपर्छ । विगतमा विधिप्रणाली कमजोर भयो त्यसकारण पनि पार्टीभित्रका समस्याहरू विधिबाट हल गर्ने भन्दा पनि व्यक्ति केन्द्रित हुन पुगे । अब पार्टीलाई जनवादी केन्द्रीयताको आधारमा सञ्चालन गर्ने, विधिमा टेकेर हल खोज्ने प्रक्रिया अघि बढायौं भने समस्या समाधान हुन्छ । फेरि पनि अन्तरविरोध देखापर्दैन भनेर ठोकुवा गर्न सकिँदैन । तर हरेक समस्याहरूको समाधान विधिद्वारा नै हल गरिनुपर्छ भन्ने मान्यताबाट अघि बढ्नुपर्छ ।
यो चरणमा भएको अन्तरविरोध हल भएको हो ?
१० बुँदा कार्यान्वयनको सन्दर्भमा ६ सदस्यीय कार्यादल गठन गरिएको छ । १० बुँदा कार्यान्वयनको सन्दर्भमा समस्या रहँदैन । तर जहाँ समस्या देखा पर्छन् भिम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेको कार्यादलले समस्या समाधानका लागि भूमिका खेल्नेछ ।
एमालेबाट विभाजित भएर माधव नेपाल नेतृत्वमा नयाँ पार्टी बनेको छ, त्यो पार्टीमा तपाईंहरू जाने सम्भावना अब छ कि छैन ?
लामो समयदेखि एमालेभित्र कतिपय प्राविधिक पक्षहरूमा पनि आ–आफ्ना मान्यता र अडानहरू कायमै रहे । आपसी मतभेद, अविश्वासका व्यवहारिक पक्षले पनि अन्तरविरोधलाई मद्दत गर्यो । यस्तो अवस्थामा ती सबै कुराहरूको हल विधिद्वारा नै खोज्नुपर्दथ्यो । फेरि पनि देखा परेका समस्याहरू समाधान गर्ने सन्दर्भमा सर्वसम्मत रुपमा कार्यादलले सिफारिस गरेको १० बुँदामै टेकेर समाधान खोज्न पर्दथ्यो । तर दुःखका साथ भन्नुपर्छ हामीले सम्पूर्ण हिसाबले पार्टीलाई एकताबद्ध गर्न सकेनौं । केही साथीहरू फरक ढंगले अघि बढ्नुभएको छ । फेरि पनि उहाँहरूलाई हामीले अनुरोध गरेका छौं । १० बुँदेमा टेकेर अब सिंगो पार्टी नै एकताबद्ध हुनेछ भन्ने विश्वासकासाथ हामीले निर्णय गरेका छौं ।
अब केपी ओली अध्यक्ष रहेको एमालेमै रहेर महाधिवेशनसम्म तपाईंहरू सँगै जानुहुन्छ ?
लामो समयदेखि हामी पार्टी निर्माणमा लाग्दै आएका छौं । एमालेको जीवनमा यस्ता उतारचढाव विगतमा पनि देखापर्दै आएका छन् । यसपटकका समस्याहरू गम्भीर रुपमा देखा परे । फेरि पनि समस्या आउनासाथ पार्टीभित्रै समाधान गर्ने पहल हुनेछ । हामीले जे अडान राखेका थियौं, त्यसमा रहेर फरक दल गठन गर्नुपर्ने राजनीतिक सैद्धान्तिक, वैचारिक र व्यावहारिक हिसाबले औचित्यपूर्ण थिएन । त्यसैले हामी पार्टी एकताबद्ध भएर अघि बढ्नेतर्फ लाग्यौं ।
तपाईंहरूले अध्यक्ष केपी शर्मा ओलीका कदमलाई प्रतिगमन भन्दै आउनु भएको थियो ? के अब त्यो प्रतिगमन पूरै सच्चिएको हो ?
पार्टीभित्र देखापरेका समस्या वा सरकारका समस्यामा पनि प्रवृत्ति के थिए, ती समस्याहरूको यथोचित समयमा समीक्षा गर्नेछौं । अहिले हामीले समीक्षा गरेनौं । यो तातो अवस्थामा समीक्षा परिणाममुखी नहुनसक्छ । हामीले पहिला पार्टीलाई व्यवस्थित गर्नेछौं । पार्टीपंक्तिलाई क्रियाशील बनाउनेछौं । कहाँ कमी रहेका छन् ती कमी नरहुन् भन्ने सन्दर्भमा समीक्षा गर्नेछौ र चाँडै एउटा निष्कर्षमा पुग्नेछौं ।
कान्तिपुरबाट साभार