वीरगञ्ज । हिमाल, पहाड र तराईमा फैलिएका आठवटा कम्युनिस्ट दलहरू पार्टी एकता गर्ने सहमतिमा पुगेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सह–संयोजक रहने गरी एकता सहमति भएको छ। दुवै दलभित्र केही असहमति रहे पनि हिजो साँझ भएको बैठकपछि १८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।
सहमति अनुसार नयाँ पार्टीको नाम टुंगो लाग्न बाँकी छ भने पाँचकुने तारा (ताराको आकृति)लाई चुनाव चिह्नका रूपमा प्रस्ताव गरिएको छ। सहमतिपत्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेकपा (माओवादी–समाजवादी), नेकपा (चिरन पुन) र नेकपा (साम्यवादी) का नेताहरूले हस्ताक्षर गरेका छन्।
एकता राष्ट्रिय सम्मेलन आउँदो कात्तिक १९ गते आयोजित हुनेछ। उक्त सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र, अन्तरिम विधान पारित र नयाँ केन्द्रीय समिति गठन गरिनेछ।
नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहनेछ भने ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ लाई दीर्घकालीन कार्यक्रम मानिएको छ। तत्कालीन कार्यनीतिमा ‘पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रुपान्तरणमार्फत समाजवादको आधार निर्माण’ मा जोर दिइएको छ।
