आज:  | Fri, 13, Feb, 2026

हमासको कब्जामा रहेका नेपाली विपिन जोशीबारे दुःखद संकेत, इजरायली मिडियाले शव हस्तान्तरण भएको जनाए

Avatar photo दिशा निर्देश २८ आश्विन २०८२, मंगलवार ०७:३८ मा प्रकाशित (४ महिना अघि)

काठमाडौं । दुई वर्षदेखि प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशी जीवितै फर्कने आशा क्रमशः मेटिँदै गएको छ।

इजरायली सञ्चारमाध्यमका अनुसार, हमासले हिजो विपिनसहित तीन इजरायलीको शव इजरायली सेनालाई बुझाएको जनाएको छ।

समाचार अनुसार, हमास समूहले दक्षिणी गाजा क्षेत्रबाट रेडक्रसको अन्तर्राष्ट्रिय समिति (ICRC) मार्फत इजरायली सेनालाई चारवटै शव हस्तान्तरण गरेको हो। शवको डीएनए परीक्षणपछि मात्रै पहिचान पुष्टि हुने बताइएको छ।

यद्यपि, हमासले विपिन जोशीको शव बुझाएको उल्लेख भए पनि नेपाल सरकारले यसबारे आधिकारिक पुष्टि गरेको छैन।

यसैबीच, परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै विपिन जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ।

मन्त्रालयका अनुसार, हिजो बिहान इजरायली सेना (IDF) ले इजरायलस्थित नेपाली राजदूत, विपिनका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारीहरूको सहभागितामा भर्चुअल बैठक गरेको थियो।

बैठकमा इजरायली सेनाले रिहा गरिएका बन्दीहरूको सूचीमा विपिन जोशीको नाम नरहेको र उहाँको अवस्था अझै अज्ञात रहेको जानकारी दिएको थियो।

मन्त्रालयले हमासको कब्जामा रहेका सबै जीवित बन्दीहरूको रिहाइ र मृतक बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म यस विषयमा निरन्तर जानकारी अद्यावधिक गर्ने जनाएको छ।


सम्बन्धित खबरहरु