आज:  | Fri, 13, Feb, 2026

साउथसिटी हिमाल हस्पिटलको गम्भीर लापरवाहीले गर्भवतीको मृत्यु

Avatar photo दिशा निर्देश २३ आश्विन २०८२, बिहीबार १५:०४ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । वीरगञ्जको साउथसिटी हिमाल अस्पताल एकपटक फेरि विवादको भुमरीमा परेको छ। रौतहटकी गर्भवती रुबी खातुनको उपचारका क्रममा भएको मृत्युले अस्पतालको सेवा, चिकित्सकीय उत्तरदायित्व र व्यवस्थापनको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

बुधबार बिहान करिब ४ बजे प्रसूति पीडासहित अस्पताल भर्ना भएकी खातुनको उपचार स्त्रीरोग विशेषज्ञ डा. प्रिति यादवको टोलीले गरिरहेको थियो। तर, रात नबित्दै उनको मृत्यु भएपछि परिवारजनले अस्पताल प्रशासनमाथि गम्भीर लापरवाही गरेको आरोप लगाएका छन्।

मृतकका श्रीमान् मोहम्मद मुस्ताकका अनुसार, बिरामीको अवस्था बिग्रिँदै जाँदा पनि डाक्टर र स्टाफले बेवास्ता गरे। उनले भने, “हामीले बारम्बार बिरामीको अवस्था गम्भीर छ भनेर आग्रह गर्‍यौं, तर अस्पतालले ‘सब ठिक छ, चिन्ता नलिनु’ भनेर ढाडस दियो। अन्ततः राति अचानक मृत्युको खबर आयो।”

तर, अस्पताल प्रशासनले भने लापरवाहीको आरोप अस्वीकार गरेको छ। प्रशासनले  भने, “बिरामीको उपचार अत्यावश्यक मापदण्डअनुसार नै गरिएको हो। दुर्भाग्यवश मृत्यु उपचारकै क्रममा भएको हो, कुनै लापरवाही भएको छैन।”

यद्यपि, घटनाको वास्तविकता पत्ता लगाउन अस्पतालले आन्तरिक छानबिन थालेको जनाएको छ।

साउथसिटी हिमाल अस्पताल यसअघि पनि बढी शुल्क असुल्ने र उपचारमा पारदर्शिता नदेखाउने आरोपमा विवादमा तानिँदै आएको थियो। रुबी खातुनको मृत्युपछि फेरि अस्पतालको विश्वसनीयता र सेवाको गुणस्तरमाथि प्रश्न उठेको छ।


सम्बन्धित खबरहरु