वैशाख, २९ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको परिवारलाई भेट गरी समवेदना व्यक्त गरेका छन्।
भारतीय राजदूत श्रीवास्तव आइतबार न्यौपाने परिवारको निवासमा पुगेर घटनाप्रति गहिरो दुःख प्रकट गर्दै हार्दिक समवेदना व्यक्त गरेका हुन्। भेटका क्रममा उनले भारत सरकार आतंकवादविरुद्धको लडाइँमा दृढ रहेको र पहलगाम हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन प्रतिबद्ध रहेको आश्वासन पनि दिएका छन्।
नेपालस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा राजदूत श्रीवास्तवले आतंकवादविरुद्ध भारतको अडानलाई पुनः दोहोर्याउँदै घटनामा ज्यान गुमाएकाको परिवारप्रति भारतको सहानुभूति रहेको उल्लेख गरिएको छ।
गत २२ अप्रिलमा जम्मु–कश्मीरको पाहलगाममा पर्यटकलाई लक्षित गरी भएको आतंकवादी आक्रमणमा सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो। उक्त आक्रमणपछि भारत–पाकिस्तानबीच सीमा क्षेत्रमा तनाव चुलिएको थियो।
